नेप्से ५ अंकले बढ्यो

बुधबार, असोज २४, २०८०

काठमाडौँ- लगातारको गिरावटपछि चौथो दिनमा सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।

यसअघि आइतबारदेखि निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार सम्ममा ६७ अंक माथिले घट्न पुगेको थियो । उसो त केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा वृद्धिपछि झन् नेप्से ओरालो लागेको थियो ।

तथापि, चौथो दिन नेप्सेमा सामान्य सुधार आए पनि अझैं कारोबारमा भने सुधार आउन सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार ५ अंकले नेप्से सूचक बढेको यस दिन जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक हुँदा बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।

आज सिटी होटेलका लगानीकर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने माण्डू हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेस्टमेन्ट नेपाल लिमिटेड सगरमाथा लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९ प्रतिशत माथिले कमाएका छन् ।

यता सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले भने आज ४.२१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार