नेपालगञ्जमा कर्फ्यु

नेपालगञ्ज झडपमा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते

मंगलबार, असोज १६, २०८०

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी प्रभावकारी एवं समन्वयात्मक रुपमा परिचालन भएको जनाएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको जनाउँदै स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेको छ । 

Nepalgunj_strike_hindu muslim11696348462.JPG

अहिलेको परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सदभाव र शान्ति कायम गर्न महत्वपूर्ण भूमिकाको स्थानीय प्रसासनले अपेक्षा गरेको छ । 

केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव देखिएको थियो। झडप हुनसक्ने र सामाजिक, धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यहाँ कर्फ्यु लगाएकाे छ

प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐनको दफा ६ (२) बमोजिम नेपाली सेनाको सहयोग लिएकोसमेत जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । –रासस

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्