नेभिगेशन
समाज विविध

सुन तस्करी अझै रोकिएन, तस्करको नजर नयाँनयाँ नाकामा

काठमाडाैं - २०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो।

तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।

केरुङ नाकाबाट सुन भित्रिन थालेपछि कडाइ गरियो। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थाल्यो।विमानस्थलमा पनि कडाइ हुन थालेपछि तस्करहरूले तातोपानी नाका उपयोग गर्न थाले।त्यो नाका बन्द भएपछि फेरि केरुङ नाकाबाटै सुन तस्करी भइरहेको छ।

गत पुस १० गते इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन ल्याउने चिनियाँ नागरिक दाओजिन वाङ र सहयोगी भागेर चीन पुगे। त्यसपछि उनीहरूले नयाँनयाँ रुटमार्फत सुन तस्करीलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ। अहिले पनि दाओजिनहरू चीनमै रहेको र विभिन्न माध्यमबाट नेपालतर्फ सुन तस्करी गरिरहेको प्रहरी स्रोतको दाबी छ।

विमानस्थलबाट बाहिरिएको सुनको अनुसन्धान नसकिँदै केरुङ नाकाबाट भएको २ किलो सुन तस्करीमा पनि उनीहरूकै हात रहेको निष्कर्षमा प्रहरी पुगेको छ। नियमित जाँच गर्ने क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याइएको दुई किलो सुन जिल्ला प्रहरी कार्यालय रसुवाले बरामद गरेको थियो। नियमित चेकिङमा शंका लागेर जाँच गर्दा टिमुरेबाट स्याफ्रुबेंसी गइरहेका २४ वर्षीया सुदीप शेर्पाका साथबाट सुन बरामद भएको थियो। उनले त्यो सुन टिमुरेकै फुर्साङ्बु शेर्पाले दिएको र आफूले काठमाडौं ल्याउन लागेको बताएका थिए।

सरकारको ध्यान विमानस्थलतिर गएका बेला तस्करहरूले केरुङ नाकालाई सुन तस्करीका लागि प्रयोग गरिरहेको अनुमान यी घटनाक्रमबाट गर्न सकिन्छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सबै नाकालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकै बेला केरुङबाट सुन बरामद भएको हो।

तातोपानी र केरुङपछि अहिले सुन तस्करहरूको नजर दोलखाको लामाबगर नाकामा पनि परेको छ। प्रहरीले दोलखाको बिगु गाउँपालिकास्थित सिँगटी बजारबाट बुधबार राति चार किलो सुन बरामद गरेपछि तस्करको नजर नयाँनयाँ नाकामा परेको अनुमान गर्न सकिन्छ। बरामद सुन उत्तरी नाका लामाबगरको फलेक हुँदै ल्याइएको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणका क्रममा तीन दिनअघि मात्रै सो नाका खुला गरिएको थियो। बिहीबारको बजार भाउअनुसार बरामद सुन ३ करोड ७७ लाख ४७ हजार ८०५ रूपैयाँको छ।

उक्त सुन बिगु–१ का १८ वर्षीय पेम्बा तामाङले नेपाल ल्याएका थिए। आइतबार चीनले नेपाल आउन रोङजिया र कोल्दुम नाका एक साताका लागि खोलिदिएको थियो। तर यी नाकाबाट सुन तस्करी भइरहेको पाइएको प्रहरीको दाबी छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने