नेभिगेशन
समाज विविध

सुनिनै छाडे मौलिक भाका

ढोरपाटन – बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । 

‘अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए, मान्छेका स्वभाव र चालचलन सबै फेरिएका छन्’, ढोरपाटनकी ८३ वर्षीया मोतिकुमारी घर्तीले भनिन् । उनले कहिलेकाहीँ एक्लै हुँदा पुराना गीत गुनगुनाउने गरेको बताइन्  

उनले गुनगुनाउने गीत अहिलेका युवा पुस्ताले खासै बुझ्दैनन् । यानिमाया, सुनिमाया, शिरफुलेमाया लगायतका थुप्रै लोक भाकाहरु सुनिन छाडेको भन्दै मोतिकुमारी गुनासो गरिन् । रोधी बस्दा, बुकीँ चढ्दा, झर्दा, मेलापात गर्दा, मेला महोत्सवमा यी गीत निकै गाउने गरेको स्मरण गर्दै अहिले हिन्दी र अङ्ग्रेजी गीतले मौलिकतालाई हराई दिएको घर्तीको भनाइ थियो ।

गीतसङ्गीतले मानिसको दुःख, वेदना र हर्ष बोल्ने भन्दै पुराना गीतसँगै संस्कृति पनि हराउँदै गएको उनले बताइन्। कुनै गीत चाडबाड विशेषतः र कुनै बाह्रै महिना गाउन मिल्ने भन्दै पछिल्लो समय पश्चिमा संस्कृतिले गर्दा स्थानीय पहिचान हराएकोमा उनले चिन्ता व्यक्त बताइन् । आधुनिकताले गर्दा धेरै मान्छेको पहिरन, खानपान र दैनिकी बदलिएको हुँदा उनीहरुलाई पुराना गीत सङ्गीतको महत्व थाहा नभएको घर्तीको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने