नेभिगेशन
समाचार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फर्किंदैछन्।

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज चीनकाे छन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रचण्डले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए ।

प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्। सो क्रममा उनले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए।

उनी अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहेका छन् ।

प्रधानमन्त्री शनिबार बिहान १० बजे नेपाल आइपुग्ने जनाइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार