चितुवाको आक्रमणले २ सय कालिज सखाप

बुधबार, असोज १०, २०८०

गल्याङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ ।

आज बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृतावस्थामा भेटिएका थिए । करिब दुई सय २० को हाराहारीमा कालिज रहेकामा एक सय ९० वटालाई चितुवाले मारेको सञ्चालक न्यौपानेले बताए । “म र मेरी श्रीमती मिनाक्षी दाना खुवाउन फार्ममा पसेका थियौँ, अचानक कालिज मरेका र घाइते कालिज छट्पटाएको देख्दा अताल्लियौँ”, उनले भने, “श्रीमतीले झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन हामी बाहिर भाग्यौँ ।”

सित्मामा डेढ वर्ष पहिलेदेखि कालिजपालन गरिँदै आएको थियो । बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको न्यौपानेको भनाइ छ । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाढेर मारेको पाइएको छ ।

डिभिजन वन कार्यालय स्याङ्जा, नेपाल प्रहरी र स्थानीयले दिउँसो १ बजेसम्म होहल्ला गर्ने, माटो छर्किने र पासो थापेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । चितुवा फार्म नाइलको जाली च्यातिएको भेटिएपछि चितुवा भागेको आशङ्का गरिएको छ ।

न्यौपानले फार्ममा हालसम्म रु १७ लाख लगानी गरिसक्नुभएको छ । फार्म चार रोपनी जमिनमा फैलिएको छ । कालिज प्रतिवटा दुई हजार पाँच सय र अण्डा रु ५० देखि एक सयसम्ममा बिक्री हुँदै आएको थियो । स्याङ्जा, गुल्मी र पर्वतबाट कालिज किन्न यहाँ ग्राहक आउने गरेका थिए ।

वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताएका न्यौपानेले कालिजपालनतर्फ लागेका थिए । जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजारलगायत स्थानमा कृषकले कालिजपालन गरेका छन् । कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलो भएकाले माग धेरै छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्