आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त छ : कावा प्रधानमन्त्री खड्का

मंगलबार, असोज ९, २०८०

काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै खड्काले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताएका हुन् ।

उनले लोककल्याणकारी कार्य मार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविस्मरणीय योगदान दिएका विशिष्ट व्यक्तिहरुलाई सरकारले सदैव सम्मान गर्ने बताए । देश, जनता र समाजको सर्वाङ्गीण विकासका लागि योगदान पु¥याउने अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्न सरकार सदैव तत्पर रहेको उनले बताए । उहाले डा. गौरीशंकर लाल दासलाई सरकार आवश्यक सेवा सुविधा दिने गरि सरकारले छिटै आवश्यक निर्णय गर्ने जानकारी दिए ।

नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएको जनाउँदै डा. गौरीशंकर लाल दासलाई  नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको संगालो पुस्तक पनि विमोचन गरिएको थियो ।  वरिष्ठ छातीरोग विशेषज्ञ डा. लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्