नेपाली कांग्रेसकाे निर्णय

कांग्रेसले सरकारलाई जनसवालदेखि शान्ति सुरक्षासम्मका बिषयमा ध्यानाकर्षण गराउने

सोमबार, असोज ८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले जनसवालका बिषयदेखि शान्ति सुरक्षासम्मका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महङ्गी कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका बिषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

मुलुक आर्थिक समस्यामा रहेका बेला आर्थिक मितव्ययीता अपनाउने कुरामा कांग्रेस गम्भीर रहेकाले तीनै तहका सरकारले अनावश्यक संरचना निर्माण नगर्ने र गरेको खण्डमा कांग्रेसले संलग्नता नजनाउने बैठकको निर्णय छ । 

त्यस्तै, संविधान जारी भएको ८ बर्ष पुग्दा पनि आवश्यक कानून निर्माण नहुदा तीनै तहका सरकार अन्यौलमा रहेकाले तत्काल कानून निर्माण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ भने कांग्रेस नेतामाथि भएको आक्रमणले सरकारको शान्ति सुरक्षामा नै प्रश्न खडा भएकाले जनतालाई सुरक्षाको अनुभूति हुने गरि शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएको प्रचार बिभाग प्रमुख विश्वकर्माले बताए ।

त्यस्तै, बैठकले शिक्षक संगठनसंग भएको वार्ताको स्वागत गर्दै सहमति भएअनुसारको कानून निर्माण गर्न सदनबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकले आसन्न महासमिति बैठकलाई सम्पन्न गर्न तीन वटा समिति गठन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार पार्टी सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, सहमहामन्त्री पूर्ण वहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा प्रतिवेदन तयारी समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समासामयीक राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ । 

बैठकले पार्टीले गरेका बिभिन्न गरेका कार्यक्रमहरुले पार्टीलाई बलियो बनाएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्