आजदेखी चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्ड , यस्तो छ भ्रमण तालीका ?

शनिबार, असोज ६, २०८०

काठमाडाैं - राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट चीन प्रस्थान गरेका छन् ।

उनी शनिबार बिहान चीनको हाङझाउ पुगेर अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

चिनियाँ समयअनुसार अपराह्न ५ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता तय भएको छ । कूटनीतिक स्रोतका अनुसार उनीहरूबीच दुई चरणमा गरी ५० मिनेट कुराकानी हुनेछ । त्यसअघि राष्ट्रपति सीले खेलको उद्घाटन समारोहमा सहभागी विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित दिवाभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीसँगको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत हुनेछन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ १९औँ एसियाली खेलको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको टोली ७ असोजमा बेइजिङ जानेछ । सोही दिन (आइतबार) अपराह्न आयोजना हुने नेपाल–चीन लगानी सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूतावासले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छ ।

प्रधानमन्त्री प्रचण्डले ८ असोजमा चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले चिनियाँ जनकंग्रेस (संसद्) स्थायी समितिका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड ९ असारमा छोङछिङ सहर जाँदै छन् । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डललाई दुई साताअघि चिनियाँ कम्युनिस्ट पार्टीले त्यहीँ स्वागत गरेको थियो । छोङछिङमा एक रात बसेर प्रधानमन्त्री प्रचण्ड १० असोजमा तिब्बतको ल्हासा जाने कार्यक्रम छ । ल्हासामा तिब्बत स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टी सेक्रेटरी वाङ जुनझेङसहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी ११ असोजमा कैलाश मानसरोवर भ्रमणमा जानेछन् । एक रात त्यही क्षेत्रमा बसेर प्रधानमन्त्री प्रचण्ड १२ असोजमा ल्हासा आउनेछन् ।

उनी ल्हासाबाट घुन्सा विमानस्थल भएर कैलाश जाने कार्यक्रम छ । परराष्ट्रका अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य र स्थानीय मौसमले साथ दिएमा मात्रै कैलाश मानसरोवरको भ्रमण हुनेछ । चीन सरकारले केही वर्षअघि भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीलाई पनि त्यही रुटबाट कैलाश मानसरोवरको भ्रमण गराएको थियो ।

प्रधानमन्त्री प्रचण्ड १२ असोज साँझ सिचुआनको राजधानी छेङदु जानेछन् । ल्हासाबाट नेपालमा उडान नभएका कारण उनी छेङदु भएर भोलिपल्ट अर्थात् १३ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्