बङ्गलादेशको डिफेन्स सर्भिसका शिक्षार्थीहरुद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज भ्रमण

सोमबार, असोज १, २०८०

काठमाडौँ– बङ्गलादेशको मिरपुरस्थित ‘डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ कलेज’का शिक्षार्थीहरूले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।  

‘डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ कोर्ष–२०२३’मा सहभागी शिक्षार्थीहरूले आज शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका हुन् ।

उक्त कलेजका वरिष्ठ प्रशिक्षक कर्नल मोहम्मद जाहिद हुसेन (पिएससी)को नेतृत्वमा गत शनिबार नेपालको ७ दिने अध्ययन भ्रमणका आएको ३२ सदस्यीय भ्रमणदलले काठमाडौं उपत्यका एवं पोखराको भ्रमणसमेत गन नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाली सेनाका अनुसार विभिन्न मित्रराष्ट्रहरुमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्‍न मुलुकहरूको भ्रमण गर्ने प्रचलन रही आएको छ ।

यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बध्द मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्