मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, भदौ ३०, २०८०

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्