ढोरपाटनमा मगर भाषा लोप हुँदै

शनिबार, भदौ ३०, २०८०

 ढोरपाटन - दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । 

पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषाको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । 

पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका-५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन ।

भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका-९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरूको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उनको  बुझाइ थियो । 

“हाम्रो पालमा स्कुल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरू सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्ष अघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन् सिक्दै सिकेनन्”, बुढामगरले भने, “१२-१५ वर्ष अघिसम्म धेरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन् । केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ ।”

ढोरपाटन नगरपालिका-४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरूको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उनका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे । 

ढोरपाटन नगरपालिका-६ कि खिमीकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गरिन् । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताइन् । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उनले जोड दिइन्।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्