नेभिगेशन
सुरक्षा–अपराध

सुधारगृह नै बालबालिकालाई अपराध सिकाउने अखडा बन्दै

काठमाडौं- बाल बिज्याइँकर्ताको आचरणमा सुधार गर्दै असल नागरिक बनाउने उद्देश्यले बाल सुधारगृह सञ्चालनमा आए पनि यस्ता गृह जेलजस्तै अव्यवस्थित, भद्रगोल र हिंसा सिकाउने कारखानामा परिणत बन्दै गएका छन् ।

२३ दिनको फरकमा भक्तपुर र वीरगन्जस्थित बाल सुधारगृहमा भएका उस्तै प्रकृतिका घटनाले यही दृश्य देखाएको छ ।

झडप र हिंसाका यी दुवै घटनाले नेपालका बाल सुधारगृहभित्र चरम शोषण, बालअधिकारको उल्लंघन र हिंसाको पुनर्उत्पादन भइरहेको त छैन भन्ने चिन्ता बढाएको छ ।

देशैभरिका ८ बाल सुधारगृहमा भएका पछिल्ला घटनाक्रम र त्यहाँभित्रको अवस्थाबारे संकलन गरेको विवरणले सुधारगृहभित्र अमानवीय वातावरणमा बालबालिकालाई राखेको पाइएको छ ।

भदौ ४ गते भक्तपुरस्थित सुधारगृहमा रहेका एक बालकको मृत्युपछि प्रदर्शन र झडप मात्रै भएन, २ सय २१ जना बाल बिज्याइँकर्ता सुधारगृहको ढोका फोडेर बाहिर निस्किए । धन्न समयमै प्रहरी परिचालन भयो र भागेका सबै जना नियन्त्रणमा आए । यो घटनापछि ५८ जनालाई अन्यत्र स्थानान्तरण गरियो । हाल यहाँ २ सय ५२ जना छन् ।

यस्तै प्रकृतिको घटना मंगलबार राति साढे ८ बजे वीरगन्ज–४ विर्तास्थित बाल सुधारगृहभित्र दोहोरियो । सुधारगृहमा रहेका दुई समूहबीच भएको झडपमा होल कमान्डर सुरज यादव र कमान्डर ललित भुजेल सख्त घाइते भए भने झडपमा सामेल एउटा समूहले सुधारगृह प्रमुख टीकाकृष्ण काफ्लेलाई रातभर कोठामा थुनेर राख्यो । भदौ ८ गते भक्तपुरस्थित सुधारगृहबाट सरुवा गरेर वीरगन्ज ल्याइएका १८ जना किशोर र पहिलेदेखि नै यहाँ रहेका किशोरबीच मंगलबार झडप भएको थियो ।

भक्तपुरको घटनापछि सुधारगृह प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनमा सानो उमेरका बालबालिका र १८ वर्ष माथिकालाई समूह नछुट्याई एकै ठाउँमा राखिनु नै विवादको मुख्य कारण भएको उल्लेख छ ।

किनकि घटना भएका बेला १ सय १० जनाको क्षमता भएको गृहमा २ सय ९८ जनालाई राखिएको थियो । सुधारगृहमा १ सय ३१ जना किशोरकिशोरी १ सय ६७ जना बालबालिकासँगै थिए । घटनापछि भागेर बाहिर निस्केका किशोरहरूले सुधारगृहमा खाना मीठो नभएको, पानी सफा नभएको, औषधि उपचार व्यवस्थित नभएको गुनासो गरेका थिए । सुधारगृहका एक किशोरले कान्तिपुरसँग भने, ‘हामीसँगै रहेका साथीहरूले खाना पकाउने जिम्मेवारी पाएका छन् तर खाना एकदमै नमीठो बनाउँछन् । तरकारी पनि दुई डाडु मात्रै दिन्छन् । शनिबार मासु त खुवाउँछन् तर तीन चोक्टाभन्दा दिँदैनन् ।’ बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधारगृहमा स्वच्छ पिउने पानी, पोषणयुक्त खानेकुरालगायतका न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने उल्लेख छ । याे समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध