नेभिगेशन
सुरक्षा–अपराध

दुई महिनामा साढे ३ क्वीन्टल बढी सुन भित्रिँदा ६० केजी मात्र बरामद

काठमाडाैं- २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट ब्रेकसुको नाममा जाँचपास भएर बाहिरिने क्रममा बरामद भएको सुनमाथि झन्डै दुई महिना अनुसन्धान गरेपछि सिआइबीले निष्कर्ष निकालेको छ– दिलीप भुजेलको नाममा दर्ता भएको कम्पनी रेडी ट्रेडको नाममा मात्रै दुई महिनामा ३६२.७७८ केजी सुन नेपाल भित्रिएको थियो ।

जसमध्ये ६०.७१६ केजी मात्रै बरामद (२ साउनमा) भएको हो । बाँकी ३०२.०६२ किलो निश्चित ठेगानामा पुर्‍याउन तस्करहरू सफल भएका थिए ।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्, ‘हङकङबाट नेपाललाई ट्रान्जिट बनाएर ठूलो परिमाणमा सुन तस्करी भएको छ । यो अपराध ‘ट्रान्सनेश्नल’ देखिन्छ । यसमा प्रयोग भएका प्रविधि, मेनपावर, लगानी र रकम अन्तर्राष्ट्रियस्तरको तथा संलग्न अभियुक्तको पृष्ठभूमि हेर्दा जापानी तथा कोरियन ‘ग्याङ लर्ड’को तहको देखिन्छ । मेरो २८ वर्षको करिअरमा यसस्तरको आपराधिक समूहसँग मुकाबिला गरेको पहिलोपटक हो ।’

सिआइबीका अनुसार हङकङबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागारिक वाङ डाओजिन हुन् । सिचुनाव प्रान्तका उनी कारोबारका लागि पटक–पटक नेपाल आउने–जाने गरेको देखिन्छ । ६०.७१६ किलो सुन बरामद हुनु केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । कारोबारका लागि उनी हङकङ बस्ने गर्छन् । उनको कारोबारमा जेनपेङ योङछिन, झोङ जिङ्गछुन, लिन र लीसहित अन्य तीनजना साझेदार छन् । उनीहरू हङकङमा नै बस्छन् ।

उनले भने, ‘तस्करमा संलग्न गिरोहको मुख्य अभियुक्त हङकङमा बस्छ । उसले सारा अपरेट हङकङ बसेरै गर्छ । जसमध्येका एक हुन् वाङ डाओजिन । उसले नेपालमा सुन तस्करीको साम्राज्य नै खडा गरेको देखिन्छ । उनी पटकपटक नेपाल आउने–जाने गरेको देखिएको छ । ६० किलो सुन समातिनुअघि पनि ऊ नेपाल आएको थियो । योसहितको गिरोहले सुन तस्करीका लागि हङकङमा विभिन्न १० वटा कम्पनी खडा गरेको देखिन्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध