बुटवलको सुप्रिम सहकारीविरुद्ध कारबाहीको माग गर्दै उजुरी

मंगलबार, भदौ २६, २०८०

लुम्बिनी– बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा आज उजुरी परेको छ । 

सहकारीले रु एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको माग राख्दै आज सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो । 

बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका दुई सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् । एक वर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि सहकारी संस्थाले फिर्ता नगरेपछि बाध्य भएर कानुनी उपचारमा जानुपरेको बचतकर्ता देवीलाल भट्टराईले बताए । उनले एक वर्षदेखि बचत फिर्ता नपाएपछि उजुरी गर्नुपरेको बताए ।

मुद्दति, मासिक, दैनिक र खुला बचतमार्फत सहकारीले रकम असुल गरेको देखिन्छ । सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ । सहकारी दर्ता अधिकारी कार्यालयका रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियमानुसार कारबाही हुने बताए । उनले बचतकर्ताको उजुरी आएको र थप अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताए । 

लुम्बिनी प्रदेशमा यस्ता २४/२५ वटा खराब सहकारीलाई कारबाही गर्न उजुरी परेका छन् । एक जना बचतकर्ताको रु साढे तीन करोड यही सहकारी संस्थाले ठगी गरेकोसमेत उजुरी परेको छ । –रासस

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्