वीपीले कांग्रेस जोई–पोईको बिरासत बनाएका थिएनन्
- विनोद ढकाल
नेपाली कांग्रेस भन्नासाथ तपाईको आँखा अगाडि तस्बिर आउँछ आउँदैन थाहा छैन, तर मानस्पटलमा एक पटक अवश्य वीपी कोइरालाको नामचाहिँ झुन्डिन्छ।
त्यो कांग्रेस जसले ००७ सालको जनक्रान्तिको नेतृत्व गरेको हामीले पढ्यौं, अनि पढ्यौं पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला (वीपी)
वीपी सृजनशील थिए, कामुक पनि थिए भन्नेचाहिँ उनको कृतिभित्रका शव्द र अक्षरले बयान गर्दछ। यति हुँदाहुँदै पनि उदार लोकतन्त्र र प्रजातन्त्रको वकालती थिए। तर, अनुशासित लोकतन्त्रको पक्षधर भएकोचाहिँ उनले तत्कालिन राजा महेन्द्रसँग टाउको जोडिएको छ भन्ने विचारले पुष्टि गर्छ।
वीपीको दर्शन, चिन्तन र राजनीतिक बाटोबारेका बडा मजेदार व्याख्याता प्रदीप गिरी हामीमाझ रहनु भएको छैन। तैपनि वीपीको साहित्यको होइन, राजनीतिको पाटोलाई केही शव्दमा राखेर अहिलेको कांग्रेसको चरित्रमाथि टिप्पणीको प्रयत्न गरेको छु। आशा छ, कांग्रेसजनले अन्यथा लिनुहुने छैन।
बीपी भारतीय स्वतन्त्रता संग्राममा पनि सहभागी भएका एक बेनाम राजनीतिज्ञ थिए।
उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए।
वीपीको विवाह सुशीला कोइरालासँग भएको थियो। उनीहरूका प्रकाश, हर्ष र शशांक गरी ३ छोरा छन् भने चेतना कोइराला उनकी छोरी हुन्। कांग्रेसको राजनीतिमा वीपीपुत्र शशांक मात्र सक्रिय छन् अन्यले फरक लिकमा छन्।
वीपीको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो। आन्दोलनमा लागेकै कारण वीपीर उनका दाई मातृकाप्रसाद कोइरालालाई वि.सं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो। यसपछि नै उनको राजनीतिक जीवनको सुरुवात भएको थियो। वि.सं १९८८ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरेका थिए। त्यसपछि बनारस हिन्दु विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरेका थिए।
अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून व्यवसाय काम गरेका थिए। विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजिक रहेका थिए। दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरिएको थियो।
त्यहाँबाट छुटेपछि उनले वि.सं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए जुन पछि गएर नेपाली कांग्रेस बन्न पुगेको थियो।
वि.सं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई तत्कालिन सरकारले एक वर्ष कैद गरेको थियो। २००७ सालमा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरु गरेका थिए। सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो। त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बनेका थिए।
राजा महेन्द्रलेस्वतन्त्र संसदीय निर्वाचन गर्न सक्षम बनाउने नयाँ संविधानको १ फागुन २०१५ घोषणा गरेका थिए। २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए। उनको सरकार १८ महिना मात्र सरकारमा रहेको थियो। कुल १०९ मध्ये ७४ सिट प्राप्त गरी वीपी २२औं प्रधानमन्त्री बनेका थिए।
प्रधानमन्त्री कालमा उनले संयुक्त राष्ट्रसंघ, भारत तथा चीनको मैत्रीपूर्ण भ्रमण गरेका थिए। प्रधानमन्त्री बीपी कोइरालाले २०१६ फागुन २८ देखि चैत ११ सम्म चीनको भ्रमण गरेका थिए। त्यसबेला उनले चिनियाँ प्रधानमन्त्री चाउ एन लाईलाई नेपाल भ्रमणको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै २०१७ वैशाख १४ देखि १७ सम्म चाउ एन लाईले दोस्रो पटक नेपालको भ्रमण गरेका थिए।
उनले त्यसबेला नेपाली संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेका थिए। त्यसै क्रममा २०१६ वैशाख १६ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए।
प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गराएका थिए। वास्तवममा भुमिसुधार विपी कोइरालाको आर्थिक सिद्धान्तको परिणाम थियो । सुरुमा विपी राजनीतिमा लोकतान्त्रीक विचारको पक्षपाती भए पनि अर्थतन्त्रमा भने मार्क्सेली विचारबाट प्रभावित थिए । भुमिसुधार गरेर वास्तविक किसानलाई जमिन वितरण गर्नुपर्छ भन्ने उनको विचार थियो । त्यसो गर्दा औद्योगिक विकासको लागि जगेडा श्रमशक्ति प्राप्त हुन्छ भन्ने उनकी विचार थियो।
वि.सं. २०१७ साल पुस १ मा राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइराला नेतृत्वको सरकार भंग गरेका थिए।
त्यसपछि उनलाई कैद गरिएको थियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखिएको थियो। वि.सं २०२४ मा उनलाई बनारस निर्वासनमा जान दिइएको थियो। वि.सं २०३२ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा कैद गरेको थियो। अन्तर्राष्ट्रिय दबाबका कारण २०३४ मा उनकाविरुद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लिएको थियो। २०३६ सालको आन्दोलन बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो।
यत्रो बर्ष राजाबाट दुख पाए पनि देशको हित राजसंस्थामा देखेका वीपीले ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भने। जसले यति साह्रो दुख दियो त्यसलाई नै किन वीपी बोक्न चहान्थे? यसमा देशप्रेम र देशको हित मात्र थियो भन्नेमा दुईमत थिएन।
११० औं वीपी जयन्तीका अवसरमा भन्नुपर्छ– बेनाम वीपीले कांग्रेसलाई जोई–पोईको विरासत बनाएका थिएनन्। यदि त्यस्तो हुन्थ्यो भने सुशीला कोइरालाको उपस्थितिले कांग्रेसको गोरेटो नै फरक हुने थियो। अहिले हेर्नुस् त कांग्रेस ! सभापति शेरबहादुरसँग बोल्न पनि भाउजू आरजु राणाको अनुमति लिनुपर्छ।
हैन भने यो एक दशकको कांग्रेसभित्रको राजनीति हेर्नुहोस्, बुझ्नुहोस् र संश्लेषण गर्नुहोस्। के वीपीले परिकल्पना गरेको कांग्रेस यस्तै हुने थियो? यो प्रवृत्तिको चलनचाहिँ वीपीका भाई गिरीजाप्रसाद कोइरालाले नै चलाएका थिए तर हाबी भईदिए शेरबहादुर देउवा र आरजु राणा।
देउवा दम्पत्तीले वीपीको साहित्यको पाटोमा त ‘स’ पनि जान्दैनन्। राजनीतिक जीवन दर्शन र बाटो नै बर्बाद पारिसकेका छन्। देशका लागि बाँचेका वीपीको राजनीतिक जीवनको एक त्यान्द्रो मात्रै कार्यान्वयन गरेका भए पनि आजका दिनमा यीनको राजनीतिक छवि धुमिल हुने थिएन।
प्रजातान्त्रिक मान्यता र मानकमा स्थापित कांग्रेसलाई सत्ताको वरिपरिभन्दा अलग बनाएर जानै नसक्ने कस्तो स्थिति बनाइयो? सरकारमा रहे पनि निरिह भएर बस्नुपर्ने देउवाले यो के गरेका हुन्? यी प्रश्न छन्। यहाँसम्मकी अब त कांग्रेसका महामन्त्रीहरुले नै आगामी महाधिवेशनदेखि निर्वाचनमा टिकट भाउजू या दाजुको तजबिजले होइन, क्षमताका हिसाबले प्रदान गरिनेछसम्म भनिरहेका छन्। यसको अर्थ, वीपीले बनाएको कांग्रेस त दाजुभाउजूको कम्पनी बनिसकेको हो भन्ने लाग्दैन र? फेरि, देउवा वीपी जयन्तीमा भन्छन्,‘वीपीको राजनीतिक चिन्तनमा हिँडिरहेको छु।’
वीपी जयन्तीका अवसरमा देखिने यस्ता परिदृश्यले तपाईलाई उदेक लाग्दैन?