नेकपा एमाले: लुम्बिनी प्रदेश अधिवेशन

एमाले लुम्बिनीमा कंडेल र रिजालबीच कडा टक्कर 

मंगलबार, भदौ १९, २०८०

रुपन्देही– नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचनमा अध्यक्षका आकांक्षीको कडा टक्कर देखिएको छ ।

सहमतिका लागि चार दिनसम्मको पहलमा सहमति नभएपछि आज भएको निर्वाचनमा  कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार मत गणनाको प्रारम्भिक नतिजामा अध्यक्षका आकांक्षी दुबै उम्मेदवारले समान ५०–५० मत पाएका छन् । अध्यक्षका आकांक्षी उम्मेदवार राधाकृष्ण कंडेलले ५० मत पाउंदा अर्का उम्मेदवार हरिप्रसाद रिजालले पनि ५० मत नै पाएका निर्वाचन समितिले जनाएको छ । 

प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी भैरहेको भण्डारीले बताए । 

पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्। त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिले उम्मेदवारी दिएका छन्।

कुल १ हजार ४ प्रतिनिधि सहभागि अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।

उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कडेललाई समर्थन गरेका छन्। महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार