ओलीको आदेश चलेनः एमाले लुम्बिनीमा  पौडेल र पोखरेलको गुट पोखियो

मंगलबार, भदौ १९, २०८०

काठमाडौं एमाले अध्यक्ष केपी शर्मा ओलील लुम्बिनी प्रदेश अधिवेशन सहमतिमा नै नेतृत्व चयन गर्नका लागि आदेश दिएर फर्किए पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट निर्वाचनमा गएको छ।

लुम्बिनी प्रदेशको अधिवेशनको निर्वाचन सुरु भइसकेको छ। दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।

पदाधिकारीमा दुई प्यानल देखिएका छन्। सहमतिका लागि चार दिनसम्म पहल गरिएको थियो। तर सम्भावना नभएपछि निर्वाचनमा गएको हो।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल बीच प्रतिष्पर्धा हुँदै छ। पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्। त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिले उम्मेदवारी दिएका छन्।

कुल १ हजार ४ प्रतिनिधि सहभागि अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।

उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कडेललाई समर्थन गरेका छन्। महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन्।

योसँगै एमालेमा ओलीपछिको गुट स्पष्ट रुपमा देखिएको छ। यसको अर्थ एमालेको आगामी महाधिवेशनमा ओली अध्यक्षमा नहुँदा पौडेल र पोखरेलबीच प्रतिस्पर्धा हुनसक्ने संकेतका रुपमा लुम्बिनी प्रदेश अधिवेशनलाई लिइएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार