नरसिंह जात्रा

ललितपुरमा मनाइयो प्रसिद्ध नरसिंह जात्रा 

सोमबार, भदौ १८, २०८०

पाटन– ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा मनाइएको छ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ । 

जात्रामा भगवान नरसिंहसंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा रखिन्छ । बिष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ । अप्सराहरूले नरसिंह भगवान हिड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् ।  

यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ । यो जात्रा करिब४ सय वर्ष पुरानो भएको लिखित इतिहास रहेको नरसिंह जात्रा आयोजक गुठीका उपाध्यक्ष सञ्जय राजोपाध्यायले बताए । उनले दुख नाश, रोगबाट मुक्त होस भनेर नरसिंह जात्रा मनाइने गरिएको जानकारी दिए ।

नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्