एसिया कप क्रिकेट

नेपालविरुद्ध पाकिस्तानले दियो ३४३ रनको विशाल लक्ष्य

बुधबार, भदौ १३, २०८०

काठमाडौँ– पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीका कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको हो । 

nepal_pakistan cricket_asia cup 2023 cnnepal1693403005.jpgपाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको हो । पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै  तीन सय ४२ रनको योगफल बनायो । 
    
विश्व वरियताको नम्बर एक ब्याटर बाबरले सर्वाधिक एक सय ५१ रनको योगदान दिए । उनले एक सय ३१ बलमा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रनको योगदान दिएका हुन । बाबरलाई नेपालका सोमपाल कामीको बलमा सन्दीप जोराले खेल सकिन दुई बल बाँकी छँदा आउट गराएका हुन् ।     

nepal_pakistan cricket_asia cup 20231693402839.jpg

यसैगरी बाबरले ४१ दशमलव २ ओभरमा आफ्नो करियरको १९औँ शतक प्रहार गरेका हुन् । बाबरले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीलाई दुई रन हान्दै शतक बनाएका थिए ।
    
त्यस्तै इफ्तिकरले आफ्नो करियरकै उच्च रन बनाए । उनले ७१ बलमा अविजित एक सय नौ रनको योगदान दिए । यसअघि न्युजिल्यान्डविरुद्ध उनले ९४ रन बनाएका थिए । दुवै खेलाडीले चौथो विकेटको लागि एक सय ३० बलमा दुई सय १४ रनको बलियो साझेदारी गरेका थिए । 
    
यसैगरी नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले पाँच दशमलव तीन ओभरमा  सुरुआती ब्याट्सम्यान फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकासहित १४ रन बनाएका थिए ।त्यस्तै पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उलहकलाई गुमाएको थियो । उनी  व्यक्तिगत पाँच रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेलले इमानलाई आउट गराएका हुन् । फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरेका हुन् ।
    
तेस्रो विकेटको रूपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । पचास रनमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराए । 
    
रिजवान र कप्तान बाबरले तेस्रो विकेटका लागि एक सय सात बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो ।

babar ajam_pakistan cricket1693402839.jpg

चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका आघा सलमान कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । त्यस्तै अन्तिम बलमा नेपालका सोमपाल कामीले पाकिस्तानका सदाम खानलाई आउट गराए । सदामले चार रन बनाएका थिए ।  

नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्