सरकारले एआईजी किरण बज्राचार्यको सरुवा नगर्नुको मुख्य कारण

शनिबार, भदौ २, २०८०

काठमाडौंगृह मन्त्रालयले आठ जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि ५ जनाबारे मात्र निर्णय भएको छ।

एआईजीहरू श्याम ज्ञवाली, टेकप्रसाद राई, सन्दिप भण्डारी, मिरा चौधरी र दीपक थापाको सरुवा गरेको मन्त्रिपरिषदले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यसहित तीन जनाको भने सरुवाको निर्णय लिएन।

ज्ञवालीलाई कार्य विभागमा सरुवा गरेको सरकारले राईलाई मानव स्रोत, भण्डारीलाई प्रहरी प्रशिक्षण तालिम केन्द्र, चौधरीलाई प्रशासन र थापालाई उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गर्दा बज्राचार्यसहितलाई साबिककै जिम्मेवारीमा राख्ने निधो गर्यो।

ललिता निवास, सुन तस्करी र नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणलाई प्रत्यक्ष अनुसन्धान गरिरहेको र अर्का प्रहरी अधिकारी आउँदा फेरि समस्या पर्ने भएकाले एआईजी बज्राचार्यको सरुवा रोकिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिधा रिपोर्टिङ गरिरहेका कारण पनि उनलाई सरुवा गर्दा यी प्रकरणमा असर पुग्न सक्ने सरकारको बुझाई छ।

अहिले मुख्य प्रकरणका विषयमा अनुसन्धान गरेका प्रहरी अधिकारी सरुवा गर्दा सरकारकै विरोध हुने देखियो, स्रोतले भन्यो,‘अहिले भुटानी शरणार्थी प्रकरणलाई उचालेर ज्ञवाली सरुवाको विषय विवादमा ल्याउन खोजिएको छ, त्यो भन्दा ठूलो जोखिम हुने थियो।

खासगरी सुनकाण्डलाई पार लगाउनका लागि नै बज्राचार्यलाई उक्त जिम्मेवारीबाट अलग नराखेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि संकेत गरेका छन्। पोखरामा शनिबार उनले एउटा पत्रकार सम्मेलनका क्रममा सीआईबीले नै सुन प्रकरणको टुङ्गो लगाउने बताएका थिए।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्