टेलिकमको आम्दानी बढ्यो

बुधबार, साउन ३१, २०८०

काठमाडौं - नेपाल टेलिकमको आम्दानी आर्थिक वर्ष २०७९/८० मा ४९ करोड ६ लाख १६ हजार रुपैयाँले बढेको छ । टेलिकमले गत २०८० को असारमा ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार कूल आम्दानी गरेको जनाएको छ ।

जबकी, अघिल्लो वर्षको आम्दानी ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी १.११ प्रतिशतले बढेको टेलिकमले जनाएको छ । 

कूल आय बढे पनि टेलिकमको खूद नाफा भने ७.८६ प्रतिशतले घटेको छ । २०७९ असार मसान्तसम्मको खूद मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रहेकोमा २०८० को सोही अवधिसम्म ६६ करोड ६२ लाख ले घटेको छ । यो अवधिमा टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ मात्रै मुनाफा कमाएको छ । टेलिकमको प्रति शेयर आम्दानी गत आर्थिक वर्ष २०७९/८० मा ४३.३६ रहेको छ । 

रोमिङ सेवाको प्रयोग बढेका कारण गत आव २०७९-८० मा टेलिकमको आम्दानी २२ करोड ४६ लाखले बढाउन सहयोग पुगेको छ । अघिल्लो आवको तुलनामा गत आवमा सेवा संचालनसँग प्रत्यक्ष रुपमा सम्बन्धित खर्चहरूमा बढेको छ । बैंक ब्याजदरमा बढ्दा टेलिकमले ब्याजबाट गर्ने आम्दानी १ अर्ब ८५ करोड ७७ लाखले बढेको छ। 

विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण पनि टेलिकमले गत आवमा २२ करोड २४ लाख फरेन एक्स्चेन्ज गेन प्राप्त गरेको छ । 

टेलिकमलाई गत आवमा डोमेस्टिक अन्तरआवद्धता शुल्क, फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि, सस्तो दरका डाटा प्याकेज, ओभर दि टप (ओटीटी) सेवाको प्रयोगमा भएको बृद्धिसहतिको कारणले टेलिकमको आम्दानी अघिल्लो वर्ष २०७८-७९ को तुलनामा गत अवमा ६८ करोड ३७ लाखले कम भएको पनि टेलिकमले जानकारी दिएको छ ।

मौसमको प्रतिकूल असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरू समयमा संचालन हुन नसक्नुले पनि टेलिकमको आम्दानी प्रभावित भएको छ । आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा पनि तुलनात्मक रुपमा कमी आएको टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्