इलामको माईजोगमाई आलु उत्पादनको हब बन्दै

बुधबार, साउन २४, २०८०

इलाम - नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट विकसित आलुका उन्नत प्रविधिले इलाममा व्यापक लोकप्रियता पाइरहेका छन् । वि.सं.२०७५ सालदेखि नार्कले ईलाममा सुरु गरेको आलुका उन्नत प्रविधिको विस्तार गर्ने रुपान्तरणकारी परियोजनाबाट बीउ आलु उत्पादनमा उल्लेखनीय बृद्धि भई किसानको आय आर्जन बढेको हो । 

वि.सं. २०७१ देखि नार्क अन्तर्गतको कृषि अनुसन्धान केन्द्र, जौबारीमार्फत माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले आलुका उन्नत विउ लगेर उत्पादन थालेका थिए । सोही सालमा जौबारी केन्द्रबाट २ हजार ४ सय किलो उन्नत बिउ समुदाय स्तरमा उत्पादन गरी त्यसको बिस्तार गर्न सुरु गरिएको थियो । 

कृषि अनुसन्धान केन्द्र जौबारीका प्रमुख जनार्जन गौतमका अनुसार उक्त क्षेत्रमा पहिले विटे, झ्याले, डेजिरे जस्ता पुराना जातका आलु लगाउने र बिउ नफेरी दशकौसम्म एउटै बिउबाट  उत्पादन गर्ने चलन थियो । जौवारी केन्द्रले आलुको वीउ चक्र स्थापना गरी  उत्पादन बढाउन सहयोग गरेको हो । पुराना जातहरुमा एजेरु, भाइरस र डढुवा रोग लाग्ने र उत्पादन कम हुने भएपनि उन्नत जातका आलुमा रोग नलाग्ने हुनाले उत्पादन बढेको हो । 

गौतमका अनुसार हाल समुदायस्तरमा मात्र ४० मेट्रिक टन उन्नत विउ आलु उत्पादन हुने गरेको र त्यहाँबाट ताप्लेजुङ, धनकुटा, संखुवासभासम्म वीउ पुग्ने गरेको छ । ईलाममा वीउका अतिरिक्त आलु लगाउने समयमा समेत फेरबदल ल्याउँदा उत्पादनमा उल्लेख्य बृद्धि भएको उनले बताए । यसअघि किसानले चैतमा रोप्ने गरेकोमा हाल पुस १५ देखि फागुन १५ सम्म आलु रोप्ने गरेका छन् र उत्पादन ७० प्रतिशतभन्दा धेरैले बढेको छ । 

31691581689.jpg

माईजोगमाई गाउँपालिकाका किसान उमाकान्त भट्टराईले आलुका पुराना जातहरुले एक रोपनीमा चार-पाँच मन उत्पादन दिने गरेकोमा नयाँ जातको आलु लगाउँदा एक रोपनीमा २० मन सम्म आलु फलाएको बताए । 

उनले आफ्नो गाउँपालिकामा हाल ८० प्रतिशत किसानले आलुका नयाँ प्रविधि अपनाउने गरेको बताए । उनले राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारबाट उन्नत आलु उत्पादनमा तालिम लिएको र उन्नत विधिहरु अपनाउँदा वीउको बचत भएको तथा  दाना कुहिने समस्याबाट जोगिएको बताए । 

ईलाम नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नुतन दुलालले दुई बर्षदेखी आलुका उन्नत जातहरु जौवारी कृषि केन्द्र मार्फत् समुदाय स्तरमा लगेको र त्यसको नतिजा उत्साहजनक आएको बताए । 

ताप्लेजुङ, सन्दकपुर गाउँपालिकाका किसान माधव गर्तौलाले सामुदायिक स्तरमा नार्कबाट प्राप्त आलुका बीउलाई आफ्नो ठाउँमा लगाउँदा पुरानो बिउभन्दा उत्पादनमा दोब्बर बृद्धि भएको बताए । जनकदेव जातको आलु प्रत्येक बर्ष ३० मनका दरले उत्पादन बढाउँदै पुरानो कम उत्पादन दिने आलुका जातहरुलाई बिस्थापित गर्ने योजना रहेको समेत उनले सुनाए । 

राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारका संयोजक डा. गिरिधारी सुवेदीले ईलामको माईजोगमाईमा २०७५ देखी आलुमा रुपान्तरणकारी परियोजना सञ्चालन गरिएको बताए । जौवारी केन्द्रसँग समन्वय गरी आलुका उन्नत जातका भाईरसमुक्त बीउ उक्त ठाउँमा लग्दा यो सफलता प्राप्त भएको उनले बताए । 

11691581689.jpg

 

 

उक्त क्षेत्रमा जनकदेव, खुमलउज्वल, डेजिरे र कुफ्रि ज्योति जातका बीउ पठाइएको र त्यसमा जनकदेव जातका बीउ लोकप्रिय भएको बताए । हाल उक्त क्षेत्रमा बार्षिक ८६ हजार किलो बीउ आलु उत्पादन हुने गरेको डा. सुवेदीले बताए । 

डा. सुवेदीका अनुसार हाल उक्त क्षेत्र पुर्वी नेपालको वीउ आलु उत्पादनको हब भएको छ । पहिलो बर्ष तीन हजार दाना, दोस्रो बर्ष आठ हजार दाना र तेस्रो बर्ष चार हजार एक सय दाना पिविएस (भाइरसमुक्त बीउ आलु) वितरण गरी बीउ बृद्धि कार्यक्रम सञ्चालन गर्दा समुदाय स्तरमा समेत बीउ उत्पादन बिस्तार भएको थियो । 

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार नेपालमा एक लाख ९८ हजार हेक्टर क्षेत्रफलमा ३३ लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । त्यस्तै, आठ अर्ब ८२ करोड रुपैयाँ बराबरको आलु र आलुका परिकारहरु विदेशबाट आयात हुने गरेको छ । यस्ता रुपान्तरणकारी कार्यक्रमले उत्पादन र आयात बीचको अन्तर कम गरी निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने डा. उपाध्यायले बताए । 

21691581689.jpg

डा. उपाध्यायका अनुसार यस्ता रुपान्तरणकारी कार्यक्रमहरु पर्वतको सालिजा, बाग्लुङको ढोरपाटन, लम्जुङको दोर्दी, अछामको मेललेख, जुम्लाको डिल्लीचौर, रोल्पाको जिनावाङ र राँक, रसुवाको गतलाङमा पनि सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्