विश्व फुटबलमा ३० कटेका खेलाडीको राज 

सोमबार, साउन २२, २०८०

एजेन्सी- कुनै समय थियो, जतिबेला ३० वर्ष कटेपछि खेलाडीको फर्म खस्कदैं जान्छ भन्ने मान्यता राखिन्थ्यों । त्यहीकारण ३५ कटेका खेलाडीहरुको मार्केट भ्यालु कम हुन्थ्यों । तर अहिले ३८ वर्षका क्रिष्ट्रियानो रोनाल्डो विश्वमै सर्वाधिक कमाउने खेलाडीको सुचीमा पहिलो नम्बरमा छन् । पाँचपटकका बेलोन डि अर विजेता रोनाल्डो साउदी लिगमा रमाइरहेका छन् ।  

गत वर्ष बेलोन डि अर अवार्ड जित्दा करिम बेन्जामा ३४ वर्षका थिए । उनी अहिले साउदीमा लिग खेल्छन् र सर्वाधिक कमाउनेको सुचीमा दोस्रो स्थानमा पर्छन् । 

३५ वर्षका मेस्सीले गत वर्षको अन्त्यमा विश्वकप उपाधि र यसै वर्ष फेब्रुअरीमा फिफा वर्ष खेलाडीको अवार्ड जिते । सर्वाधिक ७ पटक बेलोन डि अर जित्ने किर्तिमान उनको नाममा छ । सातौंपटक उक्त अवार्ड जित्दा उनको उमेर ३३ वर्ष थियो । 

लुका मोडरिकले २०१८ मा बेलोन डि अर जित्दा उनको उमेर ३१ वर्ष थियो । त्यसयता, उनको प्रदर्शन हरेक वर्ष उम्दो हुँदै गएको छ । उनले पछिल्लोपटक २०२१/२२ मा रियललाई च्याम्पियन्स लिग जिताए । गत वर्ष उनकै उत्कृष्ट प्रदर्शनको सहायतामा क्रोयशियाले विश्वकपको सेमिफाइनल यात्रा गरेको थियो । २०१८ मा फाइनल पु¥याउन पनि उनको योगदान महत्वपूर्ण थियो । 

३४ वर्षका रोबर्ट लेवान्डोस्की,  ३२ वर्षका केभिन डि ब्रुयाना, ३१ वर्षका नेइमार अहिले पनि आफ्नो टिममा मुख्य खेलाडी छन् । 

युरोप छाडेर अमेरिकी लिगमा स्थानान्तरण भएपनि मेस्सीको फर्म खस्किएको छैन । गत वर्ष अर्जेन्टिनालाई कतारमा विश्वकप जिताएकाले उनलाई यस वर्ष पनि बेलोन डि अरको मुख्य दाबेदारकै रुपमा हेरिएको छ ।

लेवान्डोस्कीले गत सिजन बार्सिलोनालाई ला–लिगा च्याम्पियन बनाउने क्रममा सर्वाधिक २३ गोल गरे । उनी सन् २०२० र २०२१ का फिफा वर्ष खेलाडी समेत हुन् । 

२४ वर्षका कालियन एमबाप्पे, २३ वर्षका भिनिसियस जुनियर, २३ वर्षका इर्लिङ हाल्यान्ड, २४ वर्षका डार्बिन नुनेज, २० वर्षका पेड्रीलगायत खेलाडीहरु अहिले युरोपेली फुटबलमा चम्किरहेका छन् । तर, उनीहरुले फिफा वर्ष खेलाडी र बेलोन डि अरजस्ता अवार्ड जित्न बाँकी नै छ ।

लामो उमेरसम्म कसरी खेल्दैछन् ?

तीनपटकका विश्वविजेता पेले १६ वर्षमै चम्किए । २९ वर्षको उमेर अर्थात् १९७० को विश्वकपसम्म उनी उच्च फर्ममा थिए ।  त्यसपछि उनको फर्म खस्कदैं गएको थियो । केही वर्ष अमेरिकामा खेलेपछि ३६ वर्षको उमेरमा उनले सन्यास लिएका थिए । 

१९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउँदा म्याराडोनाको उमेर २५ वर्ष थियो । १९९० को विश्कपमा पनि उनले अर्जेन्टिनलाई फाइनल पुर्‍याए । तर, त्यसपछि उनको खेलाडी जीवन ओरालो लाग्यो ।

विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग, बेलोन डि अर, फिफा वर्ष खेलाडीलगायत धेरै अवार्ड जितिसकेका रोनाल्डिन्होको करियर २८ वर्षको उमेरमा बार्सिलोना छाडेपछि ओरालो लाग्न थालिसकेको थियो । 

तर अहिलेको दशक खेलाडीहरु ३० कटेपछि झनै उच्च स्तरको प्रदर्शन गरिरहेका छन्  । र, उनीहरुको लय सुस्त हुने छाँट पनि देखिएको छैन । 

बार्सा इनोभेशन ल्याबले केही समयअघि यसबारे अध्ययन गरेको थियो । सुविधायुक्त प्रशिक्षण, खेलाडीको अनुशासित जीवन, कम गल्ती गर्नका लागि के गरिन्छ भनेर उनीहरुले गर्ने विज्ञानसम्मत अध्ययनलगायत पक्षले यसमा काम गरेको उक्त अध्ययनको ठहर थियो । डाइटलाई पनि मुख्य कारण मानिन्छ । के खाने र के नखाने भन्ने विषयमा अहिलेका खेलाडी निकै सचेत हुन्छन् । हरेक खेलाडीले आफ्ना निजी डाइटिसयन राख्ने गरेका छन् । जबकी, पहिले–पहिले स्टारहरु आफ्नो जीवनशैलीप्रति सचेत थिएनन् । 

म्याराडोना ड्रग्सका अम्मली थिए भने रोनाल्डिन्हो अत्यधिक रक्सी सेवन गथ्र्यें । तर, रोनाल्डो, मेस्सी, मोडरिकलगायत खेलाडीहरु सन्तुलित जीवन र ब्यालेन्स डाइटका विषयमा निकै सचेत छन् । रोनाल्डो आफ्नो जीवनभर अल्कोहलबाट टाढा रहे । 

फिट रहनसक्ने हाे भने अनुभवी फुटबलरले छोटो समयमै नयाँ वातावरणमा आफुलाई घुलमिल गराउनसक्छन् र नयाँ क्लबमा सुरुवातदेखि नै आफ्नो राम्रो प्रदर्शन दिनसक्छन् ।

पछिल्लो समय फिफाले जानाजान खराब ट्याकल गर्ने खेलाडीहरुमाथि ठूलो कारबाही र जरिवाना गर्ने गरेको छ । त्यहीकारण, स्टार खेलाडीले पहिलेजस्तो खराब ट्याकल अहिले सामना गर्नुपर्दैन । जबकी, ८० र ९० को दशकसम्म पनि स्टार खेलाडीले धेरै खराब ट्याकलहरु सामना गर्ने गर्दथें र चोट तथा शल्यक्रियाको असर उनीहरुको करियरमा देखिन्थ्यों । 

बार्सिलोनामा खेल्दा म्याराडोनामाथि १९८३ मा एन्डोनी गोइकोएट्क्षाले निकै खराब ट्याकल गरेका थिए । बल अगाडि बढाइरहेका म्याराडोनालाई पछाडिबाट आएर गोइकोएट्क्षाले खुट्टामा हिर्काएका थिए । कुर्कुच्चामा चोट लागेर गम्भीर घाइते भएका म्याराडोनाले त्यस घटनापछि १९ खेल गुमाएका थिए । तर, यस प्रकरणमा गोइकोएट्क्षामाथि कुनै कारबाही नै भएको थिएन । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्