पाकिस्तान : पञ्जाबका कैयौँ जिल्लामा सबै प्रकारका जमघट र सभा गर्न प्रतिबन्ध

आइतबार, साउन २१, २०८०

तेहरान– पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानलाई पक्राउ गरेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि धारा १४४ लागू गरिएको छ । 

प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर, झेलम, मियांवाली, मण्डी बहाउद्दीन र रावलपिण्डी जिल्लामा धारा १४४ अनुसार विरोधका कार्यक्रम वा अन्य अनावश्यक जमघटसमेतलाई प्रतिबन्ध लगाइएको हो । 

स्थानीय अधिकारीले भनेका छन्, “धारा १४४ अन्तर्गत सात दिनका लागि सबै प्रकारका जमघट, सार्वजनिक सभा, प्रदर्शन, धर्ना र र्‍यालीमा प्रतिबन्ध लगाइएको छ ।”

आदेशमा भनिएको छ, “आदेश उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गरिनेछ । इमरान खानलाई पक्राउ गर्ने अदालतको फैसलापछि प्रदर्शन हुन सक्ने आशङ्काका बीच प्रहरीले शनिबार इस्लामाबाद र रावलपिण्डीमा उच्च सुरक्षा सावधानी अपनाएको एआरवाई न्यूजले जनाएको छ ।” 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना प्रकरणमा ‘भ्रष्ट आचरण’ का लागि दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएलगत्तै उनलाई जमान पार्कस्थित निवासबाट पक्राउ गरिएको छ । प्रहरी प्रवक्ताका अनुसार सङ्घीय प्रहरीले इस्लामाबादमा उच्च सतर्कता अपनाएको घोषणा गरेको छ ।  प्रहरीले एक विज्ञप्ति जारी गरी भनेको छ, “सबै अधिकारीलाई आ–आफ्नो क्षेत्रमा बस्न र सङ्घीय राजधानीका सबै क्षेत्रमा चेकजाँच बढाउन निर्देशन दिइएको छ ।” 

रावलपिण्डीका प्रहरी अधिकारीहरूलाई पनि पीटीआई समर्थकहरूको सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न विशेष निर्देशनसहित उच्च सतर्कतामा राखिएको छ ।  एआरवाई न्यूजका अनुसार प्रहरी अधिकारीहरूले मातहतका अधिकारीहरूलाई स्थितिमाथि निगरानी राख्न भनेका छन् । 

खानलाई दोषी ठहर गरी पक्राउ गरेलगत्तै शनिबार पीटीआईले पाकिस्तानमा कानुन र संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो । सर्वोच्च अदालतले तोशाखाना प्रकरणको विचारणीयताविरुद्ध दायर गरेको पुनरावलोकन याचिकाको सुनुवाइ गर्न पनि अनुरोध गरेको छ ।

पाकिस्तानको एक जिल्ला तथा फौजदारी अदालतले इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ र उनलाई पाँच वर्षका लागि राजनीतिबाट अयोग्य घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पीटीआईले आफ्नो सङ्गठन र राजनीतिक कार्ययोजनाका लागि इमरान खानको निर्देशनअनुसार कारबाही सुरु गरेको र फौजदारी अदालतको फैसलालाई सिङ्गो राष्ट्रले अस्वीकार गरेको जनाएको छ । 

इमरान खानको लाहोर जमान पार्कस्थित निवासबाहिर वकिलसहित पीटीआईका समर्थकले उनको गिरफ्तारीको विरोध गरेका छन्। खैबर पख्तुनख्वाको बन्नूमा पनि पीटीआई समर्थकहरूले खानको पक्षमा प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्