बैतडीबाट ३ वर्षमा २ सय महिला र बालबालिका हराए

सोमबार, साउन १५, २०८०

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । यहाँको गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।

पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म यहाँ दुई सय ४३ महिला तथा बालबालिका हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ६०, २०७८/७९ मा ७८ र २०७९/८० मा १ सय पाँच जना हराएका छन् । हराउनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हराएकामध्ये केही फेला पर्ने गरेका भए पनि आधाजसो अझै सम्कर्पविहीन रहेको प्रवक्ता जोशीले बताए । गत आर्थिक वर्षमा एक सय पाँच जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका छन् । उक्त वर्ष ७२ महिला, २१ बालिका, १० बालक र दुई ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये ३३ महिला, १२ बालिका, नौ बालक र एक ज्येष्ठ नागरिक फेला परेका हुन् ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४० महिला, २६ बालिका र १२ बालक हराएका थिए । तीमध्ये २३ महिला, १६ बालिका र छ बालक मात्रै फेला परेका छन् । दुई वर्षको अवधिमा हराएकामध्ये एकसय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए । यसका साथै २०७७/७८ मा  हराएका ६० जनामध्ये ३९ मात्रै फेला परेका र अरु सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

आफन्तहरूले खोजी कार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको सङ्ख्या यकीन गर्ने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए । 'हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिए पनि हराएको मान्छे फेला परेपछि प्रहरीलाई जानकारी दिँदैनन्', उनले भने, 'हराएकाको अझै पनि जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरी खोजी भइरहेको छ ।'

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । धेरैजसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरू फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।

घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायतका कारणले महिला हराउने गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्