ललिता निवास प्रकरण

ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा थप २ जना पक्राउ

सोमबार, साउन ८, २०८०

काठमाडौँ - ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो।

उनीहरू नक्कली मोही बनेर यसमा संलग्न देखिएकाले पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए। उनका अनुसार पक्राउ परेका दुवै जना २०५९ र २०६७ सालमा मोही बनेको देखिएको छ।

सञ्जय र सकुलानन्दलाई रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले नक्कली मोही बनाएको सीआईबीको अनुसन्धानमा खुलेको थियो। उनीहरूलाई मोही बनाएर अरूले सरकारी जग्गा हडपेको पाइएको हो।

सोमबार पक्राउ परेका दुई जना सहित यस प्रकरणमा अहिलेसम्म २३ जना पक्राउ परिसकेका छन्। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्