ललिता निवास

सर्वाेच्चको फैसलासँगै ललिता निवासको अनुसन्धान तीव्र

आइतबार, साउन ७, २०८०

काठमाडौं - सर्वाेच्चबाट टुंगिएसँगै ललितानिवास जग्गा हिनामिनाको अनुसन्धानलाई प्रहरीले तीव्रता दिएको छ । 

यसमा संलग्न थप आरोपीको पक्राउ तथा बयानलाई सहज भएको प्रहरी अधिकारीले बताएका छन् । 

सर्वाेच्चमा परेको मुद्दाका कारण प्रहरी अनुसन्धान प्रभावित भएको थियो । सर्वाेच्चले शुक्रबार यससम्बन्धी विभिन्न रिटउपर फैसला सुनाउँदै पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न र अन्यलाई थुनामै राखेर अनुसन्धान गर्न फैसला गरेको छ ।

अब तीव्र गतिमा अनुसन्धान अघि बढ्ने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एक अधिकारीले नयाँ पत्रिकालाई बताए । ‘अहिलेसम्म हामी अनुसन्धानमा भन्दा सर्वाेच्चको मुद्दामा बढी केन्द्रित हुनुपरेको थियो, सर्वाेच्चले थुनामा राख्न बाटो खोलिदिएपछि अब अनुसन्धानमा केन्द्रित हुन्छौँ,’ ती अधिकारीले भने । 

सर्वाेच्चको आदेशको केही घन्टामै सिआइबीले डिल्लीबजार मालपोतका पूर्वप्रमुख कलाधर देउजालाई नियन्त्रणमा लिएको थियो । उनी गत १२ असारमा पनि पक्राउ परेकोमा सर्वाेच्चले पक्राउ नगर्न अन्तरिम आदेश दिएको पाइएपछि छुटेका थिए । सर्वाेच्चले उनको रिट शुक्रबार मात्र खारेज गरेको थियो । सर्वाेच्चको आदेशले यसअघि छुटेकालाई पनि थुनामा राख्न बाटो खुलेको सिआइबीका एसएसपी दिनेश आचार्य बताउँछन् । तर, पहिला पक्राउ परेर पनि छुटेका हुपेन्द्रमणि केसीलगायत सम्पर्कविहीन भएका छन् । 

यो मुद्दामा हालसम्म सिआइबीको हिरासतमा १८ जना छन् । प्रहरीले संगठित अपराध र सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको एक सय ४३ रोपनी जग्गा हिनामिनामा कम्तीमा तीन सय ५० जनाको संलग्नता रहेको सिआइबी निष्कर्ष छ । यसमा चारवटा छुट्टाछुट्टै मुद्दा दायर गर्ने सिआइबी तयारी छ । यसमा पूर्वमन्त्री तथा पूर्वसचिवसमेत सिआइबी छानबिनमा छन् ।

स्रोत : नयाँ पत्रिका 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्