ललिता निवास प्रकरण

वालुवाटार जग्गा प्रकरण : सचिव पक्राउविरुद्ध कर्मचारी आन्दोलित

बुधबार, साउन ३, २०८०

काठमाडाैं - ललितानिवास जग्गा प्रकरणमा अनुसन्धानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेपछि उक्त प्रक्रिया गलत भएको भन्दै निजामती कर्मचारी संगठित भएका छन्।

यो घटना कुनै अमूक व्यक्ति, पद वा सेवा समूहको मात्र विषय नभएर समग्र निजामती प्रशासन संयन्त्रविरुद्धको गलत प्रहार र अनुचित हस्तक्षेप भएको ठहर गर्दै कर्मचारीले निजामती सेवा संरक्षण समूह नै गठन गरेर आवाज उठाउन थालेका छन् । 

ललितानिवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा संविधान र कानुनविपरीतको गतिविधि गरेर सरकारले कर्मचारीहरूलाई त्रसित पारेको उक्त समूहको ठहर छ।

यसप्रति समूहले आपत्ति प्रकट गरेको छ। विज्ञप्ति जारी गर्दै समूहले भनेको छ, ‘संविधानले सुनिश्चित गरेको मौलिक हक र निजामती सेवा ऐन, २०४९ को दफा ५७ को सेवाको सुरक्षासम्बन्धी कानुनी प्रावधानको बर्खिलाप हुने गरी अनुसन्धानको नाममा एकै विषयमा पटकपटक कर्मचारीलाई धरपकड गर्ने, दुःख दिने, मानमर्दन गर्ने गरी भए–गरेका कार्यप्रति हाम्रो घोर असहमति र आपत्ति छ।’

 

कर्मचारीमाथि भएको अनुचित प्रहार घोर भर्त्सनायोग्य भएको पनि विज्ञप्तिमा उल्लेख छ। निजामती सेवालाई थप कमजोर पार्ने प्रयासस्वरूप यो घटना भएको समूहको ठहर छ।

निर्णयकर्तालाई चोख्याउने, तर उनीहरूकै आदेश र निर्देशन पालना गर्दै आफ्नो कर्तव्य निभाएका कनिष्ट कर्मचारीलाई धरपकड र अपराधी करार गर्ने काम गरिएको भन्दै यसप्रति समूहले आपत्ति जनाएको छ।

कानुनी क्षेत्राधिकार र अनुसन्धानको न्यूनतम मर्यादालाईसमेत अनदेखा गरी कर्मचारी पक्राउ गरिएको भन्दै यस घटनालाई आमनिजामती कर्मचारीले कालो दिनको रूपमा बुझेका पनि विज्ञप्तिमा जनाइएको छ।

यस घटनाले समग्र कर्मचारीलाई आतंकित बनाएको र मनोबल गिर्न पुगेको भन्दै समूहले चिन्ता प्रकट गरेको छ। ‘यस घटनाबाट कर्मचारीको मनोबल गिरेको, कार्यस्थलमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न र निर्णय प्रक्रियामा सहभागिता जनाउनसमेत हतोत्साही बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जथाभावी भएको धरपकडले तलदेखि उपल्लो तहसम्मका आमकर्मचारी आतंकित बन्न पुगेका र असुरक्षित महसुस गरेको संवेदनशील अवस्था पैदा भएको छ । यस्तो अवस्थामा कर्मचारीबाट कस्तो कार्यसम्पादनको अपेक्षा राख्ने हो !’

निजामती कर्मचारीमाथिको ज्यादती र अन्यायको विरुद्ध आफ्नो पेसागत मर्यादाभित्रै रहेर एकताबद्ध भई असहमति जाहेर गर्न समूहले आह्वान गरेको छ। अनुचित धरपकड अविलम्ब नरोके चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समूहको छ।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्