देश परिवर्तनका लागि शिक्षा क्षेत्रको परिवर्तन आवश्यक : नेता पौडेल

शनिबार, असार ३०, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।

परिवर्तन अभियान नेपालले आज काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण परीक्षार्थी र  विद्यालयलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उहाँले नेपालको शिक्षा क्षेत्रलाई नयाँ तरिकाबाट सुरुआत गर्न जरुरी रहेको बताएका हुन् ।

“मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्छ, नयाँ तवरले अगाडि बढ्नुपर्छ”, उनले भने । उनले आफ्नो रुचिअनुसारको विषय पढेमात्र सफलता हासिल हुने भएकाले सोहीअनुसार अगाडि बढ्न विद्यार्थीलाई आग्रहसमेत गरे। उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको भन्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए । 

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले शिक्षा क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रम अघि सारेको बताए । हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव हुने उनको भनाइ छ । नगरप्रमुख महर्जनले पछिल्लो समय तारकेश्वरले शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेको उल्लेख गरे ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका वडा नं १६ का सभापति मुकुन्द रिजालले बेरोजगार युवालाई सीपसहितको शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको बताए । विद्यार्थीलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्ने गरी उच्च शिक्षा अध्ययन गर्न उनले सुझावसमेत दिए ।

परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले परिवर्तन अभियान नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताए ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयबाट ‘जिपिए ४’ ल्याउने विद्यार्थी र त्यस क्षेत्रका झन्डै ९० विद्यालयलाई सम्मान गरिएको थियो । यसवर्ष तारकेश्वर नगरपालिकाबाट दुई हजार आठ परीक्षार्थी एसइई परीक्षामा सहभागी थिए । 

परिवर्तन अभियान नेपालका सदस्य माधव शर्माले हामीले खोजेको परिवर्तन के हो र अबको शिक्षा प्रणाली कस्तो बनाउने भन्नेबारे बहस आवश्यक रहेको बताउका थिए । –रासस

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार