धुर्कोट गाउँपालिकामा “एक घर एक धारायुक्त वडा” घोषणा

बुधबार, असार २७, २०८०

गुल्मी ‒ गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोककी सावित्रा भण्डारी उमेरले अहिले ३४ बर्षकी भईन् । उनले विबाह गरेको झण्डै १५ बर्ष भयो । भण्डारीको घरमा छोराछोरी,श्रीमान सहित ४ जनाको सानो परिवार छ ।

विहे गरेको दिनदेखि नै भण्डारको दैनिकी गाग्रो पानी खोज्न र बोक्नमै ठिक्क थियो । यतिबेला उनको घरकै धारामा पानी आएपछि उनको दैनिकी मात्रै फेरिएको छैन् पानी बोक्ने समयको समेत बचत भएको छ । “पानी नभएका कारण जैसिथोकमा छोरीको विहे गर्दिन बा आमाले गाह्रो मान्थे तर मेरो विहे यहि गाउँमा भयो ।  विहेको दिनदेखि पानीकै अभावमा मेरा कैयौं बर्ष विते” भण्डारीले भनिन् । 

अहिले घरमै पानीआउँदा निकै सहज भएको छ । उनी जस्तै जैसिथोकका केशव पोखरेलको विहान झिसमेसे देखि बेलुका अबेरसम्म पिउने र गाइबस्तुलाई दिने पानीको जोहो गर्दैमा दिनचार्य वित्थे । यतिबेला सरकारले घरमै भएको धारामा पानी ल्याईदिएपछि उनको दैनिकी सहज बन्दै गएको छ । घरकै धारामा पानी खसेपछी पानी पिउन,खाना पकाउन, भाडा माँझ्न, नुहाउन, कपडा धुन, गाइबाख्रालाई दिन एवम् तरकारी लगाउन समेत सजिलो भएको पोखरेलको भनाई छ । 

श्रीमतीलाई सघाउन विहानै उठेर पानी खोज्न कुवा र खोल्सा धाउने पोखरेल पछिल्लो समय घरबारीमा भेटिन्छन् । पानी बोक्ने समय बारीमा तरकारी तथा फलफुल रोप्नमा खपत भएको केशव पोखरेल बताउँछन् । पोखरेल भन्छन् “यतिबेला गाउँपालिकाले हामी सबैका धारामा पानी ल्याईदिएला भन्ने कल्पना समेत थिएन् तर गरे असम्भव भन्ने केहि रहेन्छ ।”

गुल्मी जिल्लाकै पहिलो लिफ्ट खानेपानी योजना होल्वाङ्ग तथा बाङ्गा जैसिथोक लिफ्टिङ खानेपानी लगायतका ४ वटा आयोजना मार्फत धुर्कोट गाउँपालिका ४ जैसिथोकका ६ सय ६० घरमा खानेपानीको धारा पुगेको छ ।

बुधबार एक कार्यक्रमका विच धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जैसिथोक वडालाई “एक घर एक धारायुक्त वडा” घोषणा गरेका हुन् ।  “एक घर एक धारायुक्त वडा” घोषणा गर्नेमा जैसिथोक गाउँपालिकाकै पहिलो वडा हो ।

“हामी निर्वाचनको समयमा खानेपानी तपाईको घर घरमा ल्याउने प्रतिवद्धता दिएका थियौं क्रमश सबै वडामा पुरा गर्ने तयारीमा छौँ”, गाउँपालिका अध्यक्ष पोखरेलले भने, “घर घरमा पानीको धारा आएसंगै नागरिकको दैनिकी मात्रै फेरिएको छैन् उनीहरुको समयको बचत समेत भएको छ।”

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सीता गिरिले नागरिकको घरमा पानीआएपछी देखिएको उत्साहले आफुहरुलाई विकास निर्माणको काममा अझ अग्रसर बनाएको बताइन् । आफुहरुलाई जनताले काम गर्नको लागि जनप्रतिनिधि बनाएकोले नागरिक आवश्यकतालाई मध्यनजर राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

“एक घर एक धारायुक्त वडा घोषणा” कार्यक्रम खुसि ब्यक्त गर्दै वडाअध्यक्ष वीर बहादुर कुवँर जोगीले भने लामो समयपछि भएपनी जनताको आवश्यकता पुरा गर्नमा लागि परेका छौँ त्यसमा सबै वडाबासीको साथ सहयोग मिलेको छ । खानीपानी ल्याउनका निम्ती अहोत्र खट्ने जनप्रतिनिधि,कर्मचारी,उपभोक्ता समिति लगायत सबैलाई घोषणा कार्यक्रमबाट वडाअध्यक्ष कुवँरले धन्यबाद दिए । कार्यक्रममा आनेपानी घरघरमा ल्याउन पहल गर्ने उपभोक्ता समिति,जग्गादाता र कर्मचारीलाई गाउँपालिका अध्यक्ष भुपालले पोखरेलले सम्मानपत्र र दोसलाले सम्मान गरेका थिए । 

“एक घर एक धारायुक्त वडा घोषणा” कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी , नयाँगाउँका वडाअध्यक्ष चेतमान कुवँर, धुर्कोट रजस्थलका वडाध्यक्ष कृष्ण बहादुर नेपाली, धुर्कोट ७ का वडाअध्यक्ष लिला बहादुर खनाल, कार्यपालिका सदस्य धन बहादुर वि.क, गोमिता सार्की लगायत जनप्रतिनिधि, कर्मचारी, खानेपानी उपभोक्ता समितिका पदाधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । 

वडासदस्य चुरा बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वडासचीव अशोक खनालले गरेका थिए । असार २९ गते धुर्कोट गाउँपालिका १ नयाँगाउँले “एक घर एक धारायुक्त वडा घोषणा”गर्ने तयारी गरेको वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्