जीवनी

सीताको जीवनयात्रा : १५ वर्षमा प्रचण्डसँग विवाह, १७ वर्षमा कम्युनिस्ट

बुधबार, असार २७, २०८०

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधन भएको छ । उनको निधन आज बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा भएको हो ।

२०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । विवाह गर्दा उनी १५ वर्षकी थिइन् ।

सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध रहेकी नेकपा माओवादी केन्द्रले जनाएको छ । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएकी सीताले देशमा ‘जनयुद्ध’ सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहिन् ।  २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालन भएको ‘जनयुद्ध’को समयमा उनले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकाे बताइन्छ ।

पछिल्लो समय उनी पार्किन्सन जस्तो दुर्लभ रोगलगायतका रोगहरूबाट ग्रसित थिइन् ।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी सीताका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल अहिले भरतपुर महानगरको मेयर छिन् भने गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव छिन् ।

सल्लाहकार सीताको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ ।

सीताको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको उनको पार्टी माओवादी केन्द्रको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्