इमर्जिङ कपका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा, छैनन् नियमित ४ खेलाडी 

शुक्रबार, असार २२, २०८०

काठमाडौँ– श्रीलंकामा हुने इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । 

आगामी १३ जुलाईदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो । 

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, श्याम ढकाल, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ छन् ।

टोलीमा नियमित ४ खेलाडी भने समेटिएका छैनन् । 

करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल भने टोलीमा परेका छैनन् । सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टोलीमा नपरेका हुन् ।

नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमानले पनि इमर्जिङ कप खेल्दैछन् । 

इमर्जिङ कपको समूह बीमा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । 

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छन् । 

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत एसँग खेल्नेछ । यस्तै, १९ जुलाईमा युएईसँग खेल्नेछ । 

२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल तथा २३ जुलाईमा फाइनल खेल हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्