एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

शुक्रबार, असार २२, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए ।

सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्ति दिल्ली गएको भनी  अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाए । 

उनले नेपालको प्रधानमन्त्री नेपाली जनताका प्रतिनिधि रहने सर्वोच्च थलो सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुुलुकको स्वाधीनता विपरीत भएको टिप्पणी गरे ।

सांसद घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुननसक्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गरेका थिए । 

तर एमालेका सांसदहरु उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरे । राष्ट्रियसभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि यही असार २४ गते निर्धारण गरिएको छ छ । साथै छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीको जवाफका लागि असार २५ र २६ गतेको समय तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते बिहान ११ः३१ बजे बस्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्