सरकारी जग्गा भाडामा दिनेलिने कार्यमा महानगरको गम्भीर ध्यानाकर्षण

बिहीबार, असार २१, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिका प्रमुख वालेन शाहले महानगरसँग समन्वय नगरी सरकारी जग्गा अनुचित स्वार्थसिद्धीको लागि भाडामा दिनेलिने सम्बन्धी कार्यमा ध्यानाकर्षण भएको बताएका छन् ।

आज महानगर प्रमुख वालेन शाहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा महानगरसँग समन्वय नगरी अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने सम्बन्धी प्रचलित कानून प्रतिकूलको काम कारवाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षण सम्बन्धी काम कारवाहीलाई  महानगरले उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रमुख शाहले महानगरबाट सिफारिस नलिई प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हुनेगरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी जग्गामा नक्सा पास नगरिने तथा भौतिक संरचना बनाउन स्वीकृती नदिइने कुरा समेत स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट पारिएको छ ।’ 

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा काठमाडौं महानगरपालिकासंग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने सम्बन्धी प्रचलित कानून प्रतिकूलको काम कारवाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ’ उनले लेखेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा (१) ले सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई तोकेको छ । मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) बमोजिम जारी भएको सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ ले सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरीे सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्