विपक्षीमाथि प्रधानमन्त्रीको आरोप– मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ 

बुधबार, असार २०, २०८०

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन् ।

आज दिउँसो नेकपा (माओवादी केन्द्र)सम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेकपा (एमाले)लगायत दलहरूप्रति लक्षित गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, “मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भबस भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियोे । कतिपय दललाई मिटरब्याजीलाई काबाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।“

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताए । उनले भने, “विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।“
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्