प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले महासचिवले भने– हदैसम्मको नकचरोपनको परिणाम

बुधबार, असार २०, २०८०

काठमाडौँ– आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आपत्ति जनाएको छ ।

उनले आज सामाजिक सञ्जालमार्फ आपत्ति जनाउँदै हदैसम्मको नकचरोपनको परिणाम भएको आरोप लगाएका छन् ।

‘‘प्रचण्डजीको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ’प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो,’’ उनले फेसबुकमा लेखेका छन्, ‘‘प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो । जननिर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधिसभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जाने नै छ ।’’

भारतको जम्मुबाट नेपाल आइ व्यवसाय थालेका सरदार सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन उनी पटक–पटक दिल्ली गएको खुलाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्