मनाङको यात्रा

मनाङको यात्रा :  कटे मनाङ, झरे मर्स्याङ्दीमा [तस्बिरसहित]

शनिबार, असार १६, २०८०

लमजुङ– घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो ।

उतिबेला अहिले जस्तो डोजर र एस्काभेटर चलाएर सडक बनाइदैनथ्यो । साँघुरो कच्ची सडक, हरेकपटक जोखिम मोल्नुपर्ने अवस्था । ठाउँठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा । अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ मनाङ आवतजावत गर्दछन् । 

manang_yatra_41688212853.JPG

मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा बेँसीसहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवान्को भरोसामा यात्रा गर्न यात्रु बाध्य छन् । यात्रुले यस सडक पार गरे मनाङ पुग्छन्, सडकबाट तल झरे सिधै मर्स्याङ्दी नदीमा पुग्छन् । यस्तो जोखिम मोल्नुको विकल्प छैन मनाङवासीलाई । 

जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि  सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । जनयुद्ध र अन्य विभिन्न कारणले उक्त सडक निर्माणको जिम्मेवारी विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रिया पछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो ।

manang_yatra_31688212853.JPG

सेनाले उक्त जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । सरर मटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो । नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण कार्यसम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । उक्त सडक लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

manang_yatra_51688212854.JPG

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा जोखिमपूर्ण रहँदै आएको छ । सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीय निराश बनेका छन् । मनाङवासीसँगै,  लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।

manang_yatra_21688212853.JPG

बेँसीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताए । “ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच । मर्स्याङ्दी नदीबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चल्छन्”, उनले भने । यात्रा नसकिञ्जेलसम्म डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

विभिन्न कामलगायत घरायसी समान लिनका लागि जोखिमको यात्रा गर्न बाध्य भएको मनाङकावासी बताउँछन् । 

भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक बर्खायाममा बाढीले खोतलिदिने र पहिरो आउने भएकाले थप जोखि बनेको चालक मगारातीले बताए । उनले समय–समयमा सडक स्तरोन्नति गरे सडक गुणस्तरीय हुने र जोखिम कम हुनेमा जोड दिए ।

manang_yatra_11688212853.JPG

“बेलाबेला ठाउँठाउँमा अवरुद्ध सडकले सवारीसाधन रोकेर बस्दा सडक भासिने हो कि ? माथिबाट पहिरो आएर ज्यानै लैजाने हो कि ? भन्ने जोखिम छ”, यस सडकखण्डका चालक रामबहादुर तामाङले भने । उनले यात्राका क्रममा माथिबाट पहिरो आउने सम्भावना बढी भएको भन्दै सडक भासिए मर्स्याङ्दीमा पुग्ने खतरा पनि उत्तिकै रहेको बताए । 

“हामीले दैनिक जोखिमपूर्ण यात्रा गरिरहेका छौँ । पहिरो, बाढीको जोखिमका साथै सडक भासिने सम्भावना पनि छ”, तामाङले भने । यात्राका क्रममा बाटोमा घाइते भए वा बिरामी परेमा थप समस्या हुने गरेको उनको भनाइ छ । विगतको तुलनामा केही ठाउँमा सडक स्तरोन्नति भए पनि अधिकांश ठाउँमा सडक जीर्ण हुँदै जाँदा यात्रु दिनहुँ त्रसित हुँदै यात्रा गर्न बाध्य भएका उनले बताए ।

manang_yatra_101688212854.JPG

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्