हुम्लाका ६ वटा गाउँपालिकामा कसको बजेट कति ?

सोमबार, असार ११, २०८०

हुम्ला- हुम्लाको सातवटा स्थानीय तहमध्ये चङ्खेली गाउँपालिका बाहेक अरुले आइतबार १० गते नै आफ्नो बजेट सार्वजनिक गरेका छन् । चङ्खेली गाउँपालिकाले यही असार १५ गते बजेट सार्वजनिक गरिने बताएको छ । 

पूँजीगततर्फको बजेटभन्दा चालुतर्फको बजेट दोब्बर गर्दै हुम्लाका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, अदानचुली र ताँजाकोटले आइतबार नीति तथा कार्यक्रमसहित वार्षिक बजेट ल्याएका हुन् । 

सिमकोट 

जिल्ला सदरमुकामसमेत रहेको सिमकोटले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ६७ लाख छ सयको बजेट सार्वजनिक गरेको छ । 

विकासे बजेटका रूपमा चिनिने पूँजीगतभन्दा चालुतर्फ झन्डै दोब्बर बनाएर सिमकोटले बजेट ल्याएको छ । सातौँ गाउँसभाको दोस्रो दिन बसेको बैठकमा सिमकोटका उपाध्यक्ष सुशीला रोकायाले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।  

सिमकोटले चालुतर्फ रु ३३ करोड ५१ लाख ५८ हजार र पूँजीगततर्फ रु १६ करोड १५ लाख आठ हजारको बजेट सार्वजनिक गरेको छ । सिमकोटले कूल बजेटको ६७ दशमलव ४८ प्रतिशत चालुतर्फ र ३२ दशमलव ५२ प्रतिशत पूँजीगततर्फ बजेट विनियोजन गरेको छ । 

आर्थिक विकासतर्फ रु ७४ लाख आठ हजार, सामाजिक विकासतर्फ रु नौ करोड ५८ लाख ६६ हजार, पूर्वाधारमा रु ११ करोड ४५ लाख ५० हजार, वन वातावरण र विपद् व्यवस्थापनतर्फ रु एक करोड २९ लाख ३८ हजार, सुशासन तथा सङ्गठन विकासतर्फ रु नौ करोड ५८ लाख ६६ हजार, कृषि तथा पशु विकासतर्फ रु २० लाख, शिक्षा युवा तथा खेलकुद विकासतर्फ रु एक करोड ६५ लाख, स्वास्थ्य तथा पोषणतर्फ रु ३० लाख, महिला बालबालिका तथा अपाङ्गतातर्फ रु १५ लाख रकम विनियोजन भएको हो । 

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष रोकायाले बजेटले न्यायिक समितितर्फ रु आठ लाख र गाउँपालिकाको तर्फबाट प्रत्येक वडालाई रु ३० लाखको सिलिङ दिएकाले त्यहीअनुसार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्मचारी कल्याणकारी कोषका लागि रु १० लाख र विपद् व्यवस्थापनमा रु १० लाख बजेट विनियोजन गरिएको छ । यसैगरी कृषि रैथाने कामका लागि आगामी वर्ष पालिकाको आन्तरिक आम्दानी रु ८० लाखको लक्ष्य निर्धारण गरिएको गाउँपालिका उपाध्यक्ष रोकायाले सार्वजनिक गरेको बजेटमा उल्लेख छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको सातौँ गाउँसभाले यही शनिबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र आइतबार प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । 

सिमकोटले जेठ ३२ गतेसम्मको यथार्थ आम्दानी र खर्चसमेत प्रस्तुत गरेको छ । सिमकोटले आव २०७९/०८० का लागि प्रक्षेपित कूल आय रु ६८ करोड २० लाख ४४ हजारमध्ये रु ६६ करोड ८७ लाख ५७ हजार प्राप्ति भएको देखिन्छ । सोमध्ये आन्तरिक स्रोतबाट रु ६५ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट रु ६६ करोड २२ लाख ५७ हजार रहेको छ ।

त्यसैगरी, आव २०७९/०८० को कूल खर्च गत जेठ ३२ गतेसम्म रु ४१ करोड ७६ लाख ६१ हजार भएको देखिन्छ । जुन अनुमानित खर्चको ६२ प्रतिशत हो । 

खार्पुनाथ

खार्पूनाथ गनउँपालिकाको १३औँ गाउँसभाले रु ३८ करोड ६९ लाख ७५ हजार एक सय ४५ को वार्षिक बजेट सार्वजनिक गरेको । उक्त गाउँपालिकाले पनि चालु बजेट पूँजीगतभन्दा दोब्बर बढी विनियोजन गरेको छ । 

गाउँपालिकाको केन्द्र याङ्चु बगरमा उपाध्यक्षका तर्फबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले प्रस्तुत गरेकाे बजेटमा चालुतर्फ रु २४ करोड र पूँजीगततर्फ रु १३ करोड बजेट विनियोजन गरिएको छ । 

आइतबार सम्पन्न भएको १३औँ गाउँसभामा गाउँपालिकाका तर्फबाट वडा नम्बर १ का अध्यक्ष जयबहादुर शाहीले प्रस्तुत गरेकाे करको दायरा वृद्धि गर्नेसम्बन्धी नीति, २०८०, वडा नम्बर ५ का अध्यक्ष भरतजङ्ग शाहीले प्रस्तुत गरेकाे सञ्चित कोष ऐन, २०८०, वडा नम्बर ४ का वडाध्यक्ष रङ्गमती शाहीले प्रस्तुत गरेकाे मध्यकालीन खर्च सञ्चालन ऐन, २०८० र वडा नम्बर २ का अध्यक्ष चन्द्र रावलले प्रस्तुत गरेकाे एम्बुलेन्स सञ्चालन कार्यविधि, २०८० सर्वसम्मतरूपमा पारित भएको घोषणासभाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । 

अदानचुली 

आइतबार रु २५ करोड ६० लाख ८४ हजार छ सय ७६ को बजेट ल्याएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए । ढिक्का बजेटका रूपमा पास गरेको अदानचुलीले बजेटको बारेमा छलफल गर्ने भएको हो । 

“अबको १५ दिनभित्रमा व्यापक छलफल गरेर बजेटलाई शीर्षकगत बाँडफाँट गरेर पालिकाको रातो किताब निकाल्छौँ”, अध्यक्ष सिंहले भने, “हामीले १५ शय्याको अस्पताल, पालिकाको आफ्नै प्रशासकीय भवन निर्माण, हरेक बस्तीमा सडकको पहुँच विस्तारको नीतिसहितको बजेट ल्याएका छौँ ।”

सर्केगार्ड 

जिल्लाको सर्केगाडले रु ४७ करोड ७६ लाख बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका सबै वडालाई सडक सञ्जालमा जोड्ने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको छ । सर्केगार्डले एक वडा एक सडक कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाले बराई सडकमा रु एक करोड ६० लाख, रिप व्यूबारा सडकलाई रु एक करोड रकम विनियोजन गरेको छ । सर्केगार्डले नागरिकसँग अध्यक्ष कोष, उपाध्यक्ष कोष र वडाध्यक्ष कोषमा रकम विनियोजन गरेको छ । बजेटमा सर्केगार्डले गाउँ प्रहरी गठन गर्ने कार्यक्रम ल्याएको छ । त्यसमा रु १५ लाख रकम विनियोजन गरेको छ ।

यस्तै ताँजकोट गाउँपालिकाले रु २८ करोड ४१ लाख २० हजार सात सय बजेट गाउँसभाबाट पारित गरेको छ ।

यसैगरी हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले रु ३१ करोड ३८ लाख २२ हजार आठ सय बजेट गाउँसभाबाट पारित गरेको गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताए । 

बजेट नल्याउनेमा चङ्खेली मात्रै

सातवटा स्थानीय तह भएको हुम्लामा चङ्खेली गाउँपालिकाले मात्रै आइतबार बजेट ल्याउन सकेन ।

आन्तरिक तयारीमा रहेको उल्लेख गर्दै चङ्खेली गाउँपालिकाले अबको केही दिनभित्र नीति, कार्यक्रम र बजेट ल्याउने बताएको छ । नेपालको संविधानअनुसार असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउने नीति भए पनि चङ्खेलीले १५ गतेभित्रमा बजेट ल्याउने गाउँपालिकाका अध्यक्ष प्यारिलाल शाहीले  बताए । रासस

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्