मनिष झाको प्रश्न– हिमचितुवा तराईतिर कहिले झर्यो ?

आइतबार, असार १०, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले हिमचितुवाहरु तराईतिर कहिले झर्न थाले भनेर प्रश्न गरेका छन् । 

आज प्रतिनिधि सभामा बन तथा वातावरणमन्त्री बीरेन्द्रप्रसाद महतोले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सांसद झाले बारा र पर्सा जिल्लामा हिमचितुवाको गणना र खोजीको लागि बजेट राखिएको विषयमा स्पष्टिकरण माग्दै यस्तो प्रश्न गरेका हुन् ।

उनले मन्त्रालयको बजेटमा पर्सा र बारा जिल्लामा पनि हिमचितुवाको गणना र खोजीको लागि बजेट राखिएकोमा आश्चर्य मान्दै प्रश्न गरेका हुन् ।

‘हिमचितुवाको गण्ना र खोजी गर्ने भनेर मन्त्रालयको बजेटको पेज नम्बर ३१ मा लेखिएको छ । १५ लाख रुपैयाँ छुट्टयाइएको छ । र, जिल्लाहरुमा पर्सा र बारा जिल्ला पनि छ । हिमचितुवाहरु तराईतिर कहिले झर्यो भनेर मन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु । बजेट कुन आधारमा छुट्टयाइयो भनेर सोधन चाहन्छु,’ सांसद झाले भने ।

जवाफमा मन्त्री महतोले पर्साको निकुन्ज क्षेत्रमा हिमचितुवा पाएको बताए ।

‘पर्साको निकुन्ज क्षेत्रमा हिमचितुवा पाएकोले गणनाको कुरा उठेको छ । यो चितुवा तराईंको गाउँको बस्तीमा घुस्ने गरेको तथ्यांक पनि हामीले पाएका छौं । यसमा हाम्रो ध्यानाकर्षण भएको छ । गणना अनुसार अब कसरी हामी अगाडी बढ्छौं भनेर जानकारी गराउँछौं,’ जवाफमा मन्त्री महतोले भने ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्