राष्ट्रपतिलाई नै सल्लाहकार नचाहिँनेमा उपराष्ट्रपतिले पनि राखेछन्ः पन्त

आइतबार, असार १०, २०८०

काठमाडौँ– एमाले नेता तथा सांसद रघुजी पन्तले राष्ट्रपतिलाई पनि सल्लाहकार नचाहिने बताएका छन् । उनले सरकार र प्रधानमन्त्री नै राष्ट्रपतिको सल्लाहकार भएकोले राष्ट्रपतिले सल्लाहकार राखेर खर्च बढाउने काम गर्न नहुने उनको भनाइ छ ।

उनले राजतन्त्रको नक्कल गरिएकोले राष्ट्रपतिले पनि सल्लाहकार राख्न पाउने कानुनी व्यवस्था गरिएको उनको भनाइ छ । पन्चायतकालमा राजाले ५ जना सचिव राख्ने गरेको देखेका कारण नयाँ कानुनमा राष्ट्रपतिलाई पनि सल्लाहकार राख्न दिने गरिएको पन्तले बताए ।

‘पन्चायतकालमा प्रधानमन्त्री कार्यालय बलियो थिएन । राजाले ५ जना सचिव राखेर सबै क्षेत्रमा आफूले नियन्त्रण राख्ने गरेका थिए । हामीले त्यही सिक्यौं र राष्ट्रपतिले पनि सल्लाहकार राख्ने व्यवस्था गर्यौं । राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो, क्याविनेट हो । त्यसैले राष्ट्रपतिको लागि पनि सल्लाहकार राख्ने व्यवस्था हटाउनु पर्छ,’ उनले भने ।

उनले राष्ट्रपतिले सल्लाहकार राख्न पाउने व्यवस्था कानुनमै रहेकोले त्यसको विरोध गर्न जरुरी नभएको पनि बताए । कानुनमै संशोधन गरेर राष्ट्रपतिले सल्लाहकार राख्न पाउने व्यवस्था हटाउनु पर्ने उनको भनाइ छ ।

सांसद पन्तले उपराष्ट्रपतिले विदेश सल्लाहकार समेत राख्न थालेको आफूले सुनेको भन्दै त्यसो गर्न जरुरी नभएको बताए ।

‘राष्ट्रपतिको लागि नै सल्लाहकार आवश्यक छैन भने उपराष्ट्रपतिले राख्नै पर्दैन । तर, उपराष्ट्रपतिले पनि विदेश सल्लाहकार राखेको सुनेको छु, यसो गर्न कानुनी रुपमा पाइदैन भन्ने त होइन तर हाम्रो लोकतन्त्र बलियो यसरी हुँदैन,’ सांसद पन्तले भने ।

उनले उपराष्ट्रपति पद हटाएर राष्ट्रिय सभाका अध्यक्षले नै उपराष्ट्रपतिको जिम्मेवारी पनि बहन गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्