बजेटको संशोधनमा संसदको पनि भूमिका राखौं : सांसद लेखक

आइतबार, असार १०, २०८०

काठमाडौँ– नेपाली काँग्रेसका नेता तथा सांसद रमेश लेखकले बजेटमा गरिएको व्यवस्थाप्रति संसदमा छलफल हुने व्यवस्था मिलाउन आवश्यक रहेको बताएका छन् ।

आज प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा भाग लिदै सांसद लेखकले सदनबाट बजेटमा भएका व्यवस्थाहरु परिवर्तन गर्न सक्ने ठाउँ राख्न आवश्यक रहेको बताएका हुन् ।

‘प्रतिनिधि सभा भनेको जनताका प्रतिनिधिहरु भएको ठाउँ हो । बजेटमा भएका व्यवस्थाहरु कुनै परिवर्तन नहुने हो भने बजेट सम्बन्धमा हुने छलफलको कुनै औचित्य देखिएन । करका दरका बारेमा पनि सदनले भूमिका खेल्न सक्ने ठाउँ दिनुपर्छ । सरकारले ल्याएको बजेट समयमै पास गर्ने र बजेटमा भएका व्यवस्थाहरु सदनमा परिमार्जन समेत हुन सक्ने व्यवस्था गरौं,’ सांसद लेखकले भने ।

उनले आगामी आर्थिक वर्षको बजेटदेखि सदनले बजेटमा आवश्यक परिमार्जन गर्न सक्ने ठाउँ दिनुपर्ने बताए । यसको लागि सदने आवश्यक व्यवस्था गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्