सांसद अम्बिका बस्नेतले सोधेको प्रश्नको उत्तर प्रधानमन्त्रीले हराएपछि...

शुक्रबार, असार ८, २०८०

काठमाडौँ– आज प्रतिनिधि सभामा एउटा रोचक घटना देखियो । कांग्रेस सांसद अम्बिका बस्नेतले सोधको प्रश्नको उत्तर लेखेर ल्याएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो जवाफ नभेटेपछि प्रधानमन्त्री नै अन्योलमा परेका थिए ।

सांसद बस्नेतले गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट शिवपुरी राष्ट्रिय निकुन्जमा प्रवेश गर्दा शुल्क लाग्ने तर बुढानिलकण्ठतिरबाट प्रवेश गर्दा शुल्क नलाग्ने गरेकोले सो क्षेत्रबाट प्रवेश गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिदिन आग्रह गरेकी थिइन् ।

सांसद बस्नेतको यस्तो प्रश्नपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई सो प्रश्नको जवाफ दिन आग्रह गरे । तर, प्रधानमन्त्री प्रचण्ड भने आफूले ल्याएको जवाफको पाना पल्टाउँदै सांसदको नाम पुन भनिदिन सभामुखसँग आग्रह गरिरहेका थिए ।

‘मैले माननीयज्यूको नाम विर्सिएछु, एकपटक फेरि नाम भनिदिनुस् र सभामुख महोदय,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीको यस्तो आग्रह पछि सभामुख घिमिरेले उनको नाम ‘माननीय अम्बिका बस्नेत’ भनेर जवाफ दिए । त्यसपछि पनि प्रधानमन्त्री प्रचण्ड आफूले ल्याएको जवाफको कपिको पाना पल्टाइरहेका देखिए ।

केहीबेर पाना पल्टाए पनि प्रधानमन्त्री प्रचण्डले आफूले प्रश्न विर्सिएको भन्दै फेरि सोध्न सांसद बस्नेतसँग आग्रह गरे । सभामुख घिमिरेले सांसद बस्नेतलाई फेरि प्रश्न सोध्न समय दिए । उनले प्रश्न सोधिन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिदै सो क्षेत्रबाट पनि निकुन्ज प्रवेशमा शुल्क नलाग्ने व्यवस्था गरिएकोले अब चाढै नै कार्यान्वयन हुने जवाफ दिए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्