समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्नेछ  : अध्यक्ष यादव

डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेका कारण उनी समाजवादी मोर्चामा नआएको बुझाइ
बिहीबार, असार ७, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै गठन भएको समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुनसक्ने भए पनि मोर्चा नै दलको रूपमा भने नआउने बताए । उनले भने, “समाजवादी मोर्चाले साझा मुद्दामा काम गर्नेछ, मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरूको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयमा सहकार्य हुन्छ ।”

अध्यक्ष यादवले यही असार १० गते आफ्नो पार्टीको विधान अधिवेशन सुरु हुने जानकारीसमेत गराए । उनका अनुसार तीन दिनसम्म चल्ने उक्त अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने छन् । पार्टीको विधान मस्यौदासमेत तयार भइसकेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेका कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेकोसमेत बताए । समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले बताए ।

थप १८ विधान अधिवेशन प्रतिनिधि चयन 

जसपाले आज थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ । 

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घ तथा प्रदेशमा सांसद रहेका तर केन्द्रीय समितिमा नरहेका आठ र पार्टीको साधारण सदस्य तथा अन्य भ्रातृ सङ्गठनमा रहेकामध्ये १० गरी कुल १८ जनालाई थप प्रतिनिधिमा चयन गरेको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उक्त पार्टीको विधान अधिवेशन यही असार १० गतेदेखि काठमाडौँमा हुने भएको छ । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने जनाइएको छ । असार ११ गते ११ वटा विभिन्न समूह बनाएर छलफल गरिने छ भने १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने कार्यकारिणी समिति सदस्य थापाले बताए ।

अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्