विश्वकप क्रिकेट छनोट खेल

नेपाल जिम्बाव्वेसँग पराजित

आइतबार, असार ३, २०८०

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ ।

जिम्बाव्वेको हरारे मैदानमा नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई दिएको २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो ।

जिम्बाव्वेका लागि  क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेलेर १६४ रनको साझेदारी गरे । कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए । यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए ।

वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १.१ विकेट लिए । 

टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ एक दिवसीय क्रिकेटमा आफ्नोफ तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो ।

जिम्बाव्वेविरुद्ध नेपालका ओपनर व्याटर कुलश भुर्तेल शतक बनाउन १ रनले चुके उनले ९५ बलमा ९९ रन बनाए । यस्तै, अर्का ओपनर आशिफ शेख पनि १०० बलमा ६६ रन बनाएर आउट भए । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, कुशल मल्लले ४२ बलमा ४१ रन बनाए । कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन बनाएपनि त्यसपछिका ब्याटरले राम्रो खेल देखाउन सकेनन् ।

समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्