२ किमि सडक ५ वर्षसम्म पनि सम्पन्न नगरेपछि खजुरावासी आन्दोलित

शनिबार, असार २, २०८०

नेपालगन्ज– करिव दुई किलोमिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरि अलपत्र पारेर राखेको भन्दै बाँके खजुराका स्थानीय आन्दोलित भएका छन् ।

नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध गरेका हुन् ।

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा खजुरा बजारका हरेक घरबाट एक सदस्य सडकमा निस्केर प्रदर्शन गरिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । 

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माण कार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्ष देखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् ।

ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ । ((

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्