निलम्बित एमाले सचिव रायमाझीको सांसद पद पनि निलम्बनमा

शुक्रबार, असार १, २०८०

काठमाडौँ– नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बनमा परेको छ ।

आज काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई  पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । 

यससँगै नियमावलीबमोजिम रायमाझीको सांसद पद स्वतः निलम्बनमा परेको हो । 

यससम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा छ ।

‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन’, नियममा २४८(३) मा उल्लेख छ । 

निलम्बनको अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।

अभियोग पुष्टि नभएको खण्डमा थुनामुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ । त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिनेछन् र निलम्बन फुकुवा हुनेछ ।

रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । नक्कली शरणार्थी प्रकरणमा मुझिएसँगै एमालले उनलाई सचिव पदबाट निलम्बन गरिसकेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्