प्रतिनिधिसभा बैठक

सांसदको गुनासो– बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्षा गरियो

बिहीबार, जेठ ३२, २०८०

काठमाडौँ– सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उनले  बजेट विनियोजन सन्तुलित रुपमा नभएको गुनासो गरे ।

उनले भने, ‘बजेटले महिला र मधेसलाई विभेद तथा उपेक्षा गरेको छ ।  मन्त्री र प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हो ? मधेसलाई किन उपेक्षा र विभेद गरिएको हो ?’

छलफलमा भाग लिँदै सांसद भानुभक्त जोशीले बजेटको विनियोजन आवश्यकता आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन गरिएकाले सच्चाउनुपर्ने बताए । उनले नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार वन तथा वातावरण मन्त्रालयका लागि बजेट विनियोजन नभएको बताए ।  

‘बझाङ जिल्लाको विभिन्न स्थानमा पहिरो नियन्त्रण र वृक्षरोपणका तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि  मन्त्रालय र विभागमा निवेदन  दिएको थिए । तर दुई वटा सिँचाइ कुलो, सुविद्यासम्पन्न शौचालय र प्रतिक्षालयमा केही रकम विनियोजन गरिएको रहेछ,’ उनले भने, ‘कस्को सुझावमा आउछ बजेट ? यस्तो बजेटलाई कसरी समर्थन गर्ने ?’
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्