राष्ट्रियसभाका अध्यक्षसँग साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस अध्यक्षको भेट

बुधबार, जेठ ३१, २०८०

काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले पिपुल्स बिल्डिङमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक सहर साङ्घाईको विकासबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए । साङ्घाईबाट काठमाडौँ र पोखरा सिधा उडान भयो भने त्यसले साङ्घाईको औद्योगिक, व्यापारिक र धार्मिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो । 

अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले साङ्घाई सहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरूलाई जानकारी गराएको थियो ।

चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष युन्हुले साङ्घाई सबैभन्दा ठूलो आर्थिक केन्द्र सहर भएको र यसले चीन र नेपालबीचको अन्तरसम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पु¥याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए ।

भेटमा नेपालको संसदीय प्रतिनिधिमण्डलका सदस्य साथै चीनको साङ्घाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकंग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकंग्रेसको चीन–नेपालमैत्री समूहका उपप्रमुख वाङ के र साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङलगायत सहभागी थिए । –रासस

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले साङ्घाईमा साइयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, साङ्घाई ग्रामीण योजना प्रदर्शनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्रलगायतका स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए ।

वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाई उडान सुरु गर्ने विषयले प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिनासहितको नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्