सुत्केरी गराउने क्रममा तनहुँमा आमा र शिशु दुबैको मृत्यु

बुधबार, जेठ ३१, २०८०

तनहुँ– व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीया शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र  उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । 

चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले जानकारी दिए । 

बिहीबमर पोष्टमार्टमको रिर्पोट आउँछ, त्यसपछि उपचारमा सङ्लग्न चिकित्सक दोषी ठहरिए कानुनी कारबाही अघि बढ्छ । मृतकका आफन्तजनले अझै शब बुझ्न नमानेको उनले बताए । घटनापश्चात पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुबैलाई बचाउन हरपल प्रयत्न गरेपनि बचाउन नसकेको बताएको हजुरबुबा चिजबहादुरले जानकारी दिए । 

छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुबै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ उदृत गर्दै उहाँले उल्लेख गरे । चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती कही पनि नगरेको भन्दै स्वीकार गरे पनि आमा र शिशु दुबैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौ । हजुरबुबा चीजबहादुरले भने, ‘छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्